काठमाडौं । काठमाडौं महानगरपालिका सहकारी विभागका निर्देशक देवेन्द्र प्रसाद पोखरेलले अहिले समस्या उत्पन्न भएका धेरै सहकारी संस्थामा ग्राहक र शेयर सदस्य गरी दुई थरी मानिस भेटिएको बताएका छन् ।
उनले सहकारीमा शेयर सदस्य र ग्राहकको भिन्नता सदस्यले नै थाहापाउनुपर्ने बताएका छन् । सहकारी हकहित राष्ट्रिय समाजले संचालन गरेको सहकारी सम्बन्धी चार दिवसीय तालिम समापन कार्यक्रममा निर्देशक पोखरेलले ‘समस्यामा परेका सहकारीमा ऋण लिने उद्देश्यले मात्र १० कित्ता देखि सय कित्तासम्म शेयर हाल्ने ग्राहक भेटिएको बताएका छन् ।
उनले भने ‘तालिममा सहभागी सहकारीकर्मीहरुले सहकारीका ग्राहक, शेयर सदस्य र समस्या बीचको दुरी कम गर्न अगाडि एक पाईला चाल्नुभयो भने पनि तालिम उपलब्धिमूलक भएको ठहरिने छ ।’
सहकारी संस्थाका संचालक, ब्यवस्थापक र कर्मचारीहरुले सहकारीका सिद्धान्त नबुझेर भन्दा पनि सिद्धान्त प्रतिकुल काम गर्ने नियत राखेकाले सहकारीमा समस्या उत्पन्न भएको उनको गुनासो थियो । सहकारीका समस्या समाधान गर्न सहकारीकर्मी र नियामक निकायबीच नियमित सम्पर्क र सम्वाद आवश्यक रहेको बताए ।
समाजले काठमाडौं महानगरपालिका सहकारी विभागसंगको सहकार्यमा बैशाख ११ देखि १४ गते सम्म ‘सहकारी संस्थामा जोखिम ब्यवस्थापन’ विषयक तालिम कार्यक्रम संचालन गरेको हो ।
काठमाडौंको नयाँबानेश्वर स्थित आनन्द भूमि बिजनेस सेन्टरमा संचालित तालिममा सहकारी संस्थामा उत्पन्न हुनसक्ने जोखिम, बच्नका लागि अपनाउनुपर्ने पूर्व सावधानी र समाधानका लागि अवलम्बन गर्नुपर्ने रणनीतिबारे विभिन्न विषय विज्ञहरुले प्रशिक्षण दिनुभएको थियो ।
तालिमको पहिलो दिन संघीय सहकारी विभागका पूर्व रजिष्ट्रार एवं नेपाल सरकारका सहसचिव डा. टोकराज पाण्डेले ‘सहकारी ऐन, २०७४ र सहकारी नियमावली, २०७५ कार्यान्वयनको अवस्था र सरोकारवाला निकायहरुको भूमिका’ विषयमा र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलले ‘सहकारीमा जोखिम ब्यवस्थापन’ विषयमा कार्यपत्र सहित प्रशिक्षण दिएका थिए ।
यसैगरी तालिमको दोश्रो दिन नेपाल सरकारका पूर्व सचिव गोपीनाथ मैनालीले ‘सहकारीका समस्या, चुनौती र समाधानका उपाय’ विषयमा प्रस्तुतिकरण दिएका थिए । साथै उहाँले सहभागीहरुसंग सहकारीका समसामयिक समस्याबारे अन्तरक्रिया गरेका थिए ।
तालिमको तेश्रो दिन नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का पूर्व प्रमुख कार्यकारी अधिकृत एवं सहकारी प्रशिक्षक कुबेर निरौलाले ‘सहकारीमा ऋण ब्यवस्थापन तथा कर्जा वर्गिकरण’ विषयमा प्रशिक्षण दिएका थिए ।
यस्तै तालिमको अन्तिम दिन बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून)का प्रमुख कार्यकारी अधिकृत केशव दाहालले ‘सहकारी संस्थामा संचालक समित र लेखा सुपरीवेक्षण समितिको भूमिका’ विषयमा प्रशिक्षण गरेका थिए ।
यस्तै कार्यक्रमका सहकारी हकहित राष्ट्रिय समाजका अध्यक्ष गोविन्द गिरीले सहकारी बिटमा पत्रकारिता गर्ने सञ्चारकर्मीहरुको सहभागितामा स्थापना भएको समाजले स्थापना कालदेखि सहकारीको प्रवद्र्धनसंग सम्बन्धित विभिन्न तालिम, छलफल, अन्तरक्रिया लगायतका विभिन्न कार्यक्रम संचालन गर्दै आएको बताए ।
यसैबीच तालिम कार्यक्रको समापन समारोहमा सहभागी सहकारीकर्मीहरुको तर्फबाट प्रतिनिधित्व गर्दै चेतनशील महिला बचत तथा ऋण सहकारी संस्थाकी निवर्तमान अध्यक्ष सुमित्रा देवी ढकाल र नवकान्तिपुर बचत तथा ऋण सहकारी संस्थाका ब्यवस्थापक हरी प्रसाद पाण्डेले बिचार राखेका थिए ।
Leave a comment