सदस्यलाई मालिक हुँ भन्ने कुराको आभाष दिलाउनुपर्छ : प्रशिक्षक निरौला

सदस्यलाई मालिक हुँ भन्ने कुराको आभाष दिलाउनुपर्छ : प्रशिक्षक निरौला :: Sahakari Akhabar

काठमाडौं । सहकारी प्रशिक्षक कुबेर निरौलाले सहकारीका सदस्यलाई मालिक हुँ भन्ने कुराको आभाष दिलाउनुपर्ने बताएका छन् । उनले ऋणी सदस्यलाई म पनि सहकारीको मालिक हुँ, संस्था जोगाउने जिम्मेवारी मेरो पनि हो भन्ने कुराको आभाष दिलाउनुपर्ने बताए । सहकारी हकहित राष्ट्रिय समाजले काठमाडौंमा सोमबारबाट संचालन गरेको ‘सहकारी संस्थामा जोखिम ब्यवस्थापन’ विषयक तालिम कार्यक्रमको तेस्रो दिन सहभागीलाई प्रशिक्षण गर्दै उनले यस्तो बताएका हुन् ।

साथै उनले सहकारीका संचालक तथा कर्मचारीहरुले सदैव ऋणी सदस्यहरुको समिपमा रहेर उनीहरुको ब्यापार व्यवसाय तथा सामाजिक अवस्थाको बारेमा जानकारी लिनुका साथै समस्या परेको समयमा आवश्यक सहयोग समेत गर्नुपर्ने कुरामा जोड दिए ।सहकारी संस्थाले सदस्य केन्द्रित ब्यवसाय गर्ने भएकाले परिस्थिति अनुसार ऋणी सदस्यको विभिन्न पक्षहरुको विश्लेषण गरेर भाखा नाघेको ऋणको म्याद थप्नुका साथै ऋणको पुनर्तालिकीकरण समेत गर्नुपर्ने बताए ।

तालिममा सहभागी सहकारी संस्थाका संचालक, ब्यवस्थापक र कर्मचारीहरुलाई कानुनले तोके अनुसार अनिवार्य कर्जा नोक्सानी ब्यवस्था गर्न सुझाव दिए । ‘सहकारी संस्थाले नाफा कम हुन्छ, शेयर सदस्यलाई धेरै शेयर लाभांश वितरण गर्न पाईंदैन, कर्मचारीलाई बोनस कम हुन्छ भनेर कर्जा नोक्सानी ब्यवस्था कम देखाउनुहुँदैन,’ उनले भने ।

सहकारी विभागले जारी गरेको एकीकृत निर्देशनमा ऋणहानी ब्यवस्था नगरी शेयर लाभांश वितरण गर्ने सहकारीका संचालकबाट दामासाहीमा यस्तो रकम असुलउपर गरेर जगेडा कोषमा जम्मा गर्नुपर्ने ब्यवस्था रहेको समेत स्मरण गराए ।

उनले संस्थाको वित्तीय स्वस्थताका लागि अनिवार्य बचत नीति र ऋण नीति तयार पारेर कडाईका साथ कार्यान्वयन गर्नुपर्ने बताए । सहकारीले अन्तराष्ट्रिय मूल्य, मान्यता र सिद्धान्तका साथै राज्यले जारी गरेका ऐन, कानुन, नीति, नियम, निर्देशन लगायतका ब्यवस्था पालना गरेर कारोबार गर्नुपर्नेमा जोड दिए ।

‘राज्यले जारी गरेका ऐन, कानुन, नीति, नियम, निर्देशन, मापदण्ड पालना नगरी कारोबार गर्ने हो भने सहकारी संस्था जुनसुकै समय वित्तीय दुर्घटनामा पर्न सक्छ,’ उनले सचेत गराए । साथै उनले अन्य सहकारी संस्थामा समस्या आएको हो, हाम्रो संस्थामा समस्या आएको छैन भनेर ढुक्क भएर नबस्न समेत सल्लाह दिए ।

प्रशिक्षक निरौलाले सहकारी संस्थाले कर्जाको सुरक्षण गर्नका लागि ऋणको उपयोग, ऋणी सदस्यको तिर्न सक्ने क्षमता, धितो जमानत, पूँजीको संरचना, चरित्र लगायतको मिहिन विश्लेषण गरेर योजना तयार पार्नुपर्ने आवश्यकता औंल्याए ।

प्रशिक्षक निरौलाले सहकारीले एक लाख रुपैयाँ भन्दा बढी रकम बिना धितो लगानी गर्न र ऋण पुँजीकरण गर्न नपाउने कानुनी ब्यवस्था रहेको समेत जानकारी गराए । राजधानीको नयाँबानेश्वर स्थित आनन्द भूमि ईभेन्ट भेन्यूमा जारी तालिम कार्यक्रम भोलि समापन हुँदैछ । तालिमको अन्तिम दिन बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून)का प्रमुख कार्यकारी अधिकृत केशव दाहालले प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।



Leave a comment