बागलुङ । जिल्ला सहकारी संघ लिमिटेड बागलुङको १६ औं स्थापना दिवसका अवसरमा तनाव व्यवस्थापन कार्यक्रम बुधवार सम्पन्न भएको छ । जिल्ला सहकारी संघको आयोजना तथा राष्ट्रिय सहकारी बैंक बागलुङ शाखाको प्राविधिक सहयोगमा सञ्चालित कार्यक्रमको उद्घाटन बागलुङ नगरपालिकाका कार्यवाहक नगर प्रमुख राजु खड्काले गरेका छन् ।
कार्यवाहक नगर प्रमुख खड्काले सकारात्मक सोचका साथ चुनौतीको सामना गर्न तत्पर हुन सके जुनसुकै समस्या सहज रुपमा समाधान भएर जाने बताए । यतिबेला बागलुङका केही सहकारीमा आएको तरलताको असहज अवस्थालाई लिएर धेरै टिका टिप्पणी र तनाव लिन जरुरी छैन, यतिबेला आएको चुनौती हो, यसलाई हामी सबै मिलेर समाधान गरिछाड्छौ, उनले भने ।
कार्यक्रममा ब्रह्माकुमारी राजयोग केन्द्रका अन्तर्राष्ट्रिय प्रशिक्षक रमण भट्टराईले तनाव व्यवस्थापन सम्बन्धमा सहजीकरण गरेका थिए । उनले सकारात्मक सोच राखेर गरिने हरेक क्रियाकलापले समस्यालाई समाधान गर्न सहजता प्रदान गर्ने भएकाले सबैलाई सकारात्मक हुन आव्हान गरे ।
जिल्ला सहकारी संघका अध्यक्ष हुमा कुमारी जिसी (अञ्जु) को अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सहकारी संघ बागलुङका संस्थापक अध्यक्ष कृष्ण शंकर श्रेष्ठ, पूर्व अध्यक्ष तथा सल्लाहकार राम बहादुर जिसी, पूर्व अध्यक्ष तथा सल्लाहकार दिपक गौतम, सल्लाहकार तथा नेफ्स्कुनका सञ्चालक चण्डी प्रसाद शर्मा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
Leave a comment