सहकारीका संचालक घरजग्गाको कारोबार गर्ने नशामा लागेकाले समस्या आयो : अध्यक्ष पनेरु

सहकारीका संचालक घरजग्गाको कारोबार गर्ने नशामा लागेकाले समस्या आयो : अध्यक्ष पनेरु :: Sahakari Akhabar

काठमाडौं । काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ (कास्कून)का अध्यक्ष दिपक पनेरुले केही सहकारी संस्थाका संचालकहरुलाई घरजग्गाको कारोबार गर्ने नशा लागेकाले सहकारीमा समस्या उत्पन्न भएको बताएका छन् ।

सहकारी हकहित राष्ट्रिय समाजले राजधानीमा सोमबार आयोजना गरेको सहकारीको जोखिम ब्यवस्थापन तालिम कार्यक्रममा अध्यक्ष पनेरुले मुलुकमा सांसद, मन्त्री, प्रोफेसर, ईन्जिनियर लगायतका विभिन्न पेशा, ब्यवसाय र जिम्मेवारीमा गरेका व्यक्तिहरुले घरजग्गाको कारोबार गरेर देखेर केही सहकारी संस्थाका संचालकहरु पनि घरजग्गाको कारोबार गर्ने नशामा लागेकाले सहकारीमा समस्या उत्पन्न भएको बताए ।

यसैगरी उनले शेयर सदस्यहरुले वास्तविकता नबुझी हल्लाको पछाडि लागेर सहकारीबाट निक्षेप निकालेर अन्यत्र लानु गलत भएको बताए।

‘सहकारीलाई अप्ठ्यारो बेलामा सदस्यले काँध थाप्नुपर्छ । संस्थालाई विश्वास गर्नुपर्छ । हिजो दशतिर भौंतारिँदा पनि ऋण नपाउँदा सहकारीले सहयोग गरेको थियो ।

हिजो सहकारीले विश्वास गरेर सारा ब्यवहार फुकाईदिएको थियो । उसको वित्तीय आवश्यकता पुरा गरिरिदिएर समाजमा हिँड्न सक्ने बनाईदिएको थियो ।’ अहिले आएर उसले हल्लाका पछाडि लागेर शंकाको भरमा सहकारीबाट पैसा निकालेर लान मिल्छ ? यस्ता सदस्य पनि अपराधी हुन् ।’

उनले सहकारीका संचालकहरुलाई समस्या पहिचान गरेर सुधारका लागि प्रभावकारी योजना तर्जुमा गरेर लागू गर्न आग्रह गरे । साथै संचालकहरुले शेयर सदस्यहरुलाई नडराई संस्थाका समस्याबारे वास्तबिक जानकारी दिएर उनीहरुको विश्वास जित्नुपर्ने बताए । ‘अरुको चियो चर्चा गर्नुभन्दा पहिले आफ्नो संस्थाको बारे चिन्ता गरौं । आफ्ना सदस्यहरुतर्फ फर्कौं,’ उनले भने ।



Leave a comment