म्याग्दी । राष्ट्रिय सहकारी बैंक बागलुङ शाखाले बेनीमा दुईदिने कर्जा लगानी तथा असुली व्यवस्थापन तालिम सम्पन्न गरेको छ । तलिममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले सहकारी संस्थाहरुको दिगोपनाका लागि सदस्यहरु जागरुक हुनु पर्ने बताए ।
उनले सदस्यको साह्रो गाह्रोमा सहकारीले साथ दिने र सहकारीलाई समस्या पर्दा सदस्य निर्धक्क उभिनु पर्नेमा अझै सदस्यहरुमा सहकारी हामीले जोगाउने हो भन्ने भावना नआएको बताए । सदस्यहरुले पनि संस्थालाई दिगो बनाउनका लागि भूमिका खेल्नु पर्ने उनको भनाई थियो।
जिल्ला सहकारी संघ म्याग्दीका अध्यक्ष प्रेमबहादुर कार्की (दिपक विखर्ची) ले यतिबेला सहकारीमाथि चौतर्फी हमला भएको भन्दै सम्पूर्ण सहकारीकर्मीहरु एकतावद्ध भएर अभियान जोगाउन लाग्नु पर्ने बताए ।
बेनी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रमेश गिरीले सहकारीको माध्यमबाट समाज परिवर्तन आएकोले यसलाई अप्ठेरो परेमा सबैले हातेमालो गरेर अगाडी बढ्न पर्ने बताए ।
दुई दिन सम्म सञ्चालन भएको कर्जा लगानी तथा असुली व्यवस्थापन तालिममा बागलुङ शाखा प्रवन्धक युवराज त्रिपाठीले सञ्चालन, सहकारी बैंकका तालिम अधिकृत राजकुमार बरालले सहजीकरण गरेका थिए ।
Leave a comment