विराटनगर । मातातिर्थ औसिको अवसरमा मोरङका सहकारीले आमाहरु तथा जेष्ठ नागरिकलाई सम्मान गरेका छन् । मोरङको बेलबारी ३ मा रहेको लालीगुराँस बचत तथा ऋण सहकारीले मातातीर्थ औँसीको अवसर पारेर सहकारीका सदस्य तथा सदस्यका आमाहरुलाई सम्मान गरेको छ ।
सहकारीले हरेक बर्ष सम्मान कार्यक्रम गर्दै आएको छ र यो बर्ष पनि निरन्तरता दिईएको सहकारीका अध्यक्ष दुर्गा गौतमले जानकारी दिए । यस वर्ष २२ जना वृद्धा आमाहरुलाई सहकारीले प्रमाणपत्र, खादा र पुष्पगुच्छा सहित सम्मान गरेको उनले बताए ।
सहकारीका अध्यक्ष दुर्गाप्रसाद गौतमको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व अध्यक्ष हरि प्रसाद सुवेदी, बेलबारी नगरपालीकाकी उप प्रमुख नितु थापा कोइराला लगायत सम्पूर्ण सहकारीका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
बेलबारी नगरपालिकाकी उपप्रमुख थापाले आमाको माहानताको व्याख्या गदैै आमाहरुको योगदानलाई कसैले पनि भुल्न नहुने बताईन । सहकारीले आफ्नो सदस्यसँगै सदस्यका आमाहरुलाई सम्मान गर्नु सकारात्मक भएको बताउँदै उनले सहकारीप्रति विश्वास पनि बढ्ने बताईन ।
सहकारीका पुर्व अध्यक्ष हरि प्रसाद सुवेदीले पछिल्लो समयमा सहकारीमा देखिएका समस्याका कारण नियमसंगत चलेका सहकारीमा पनि समस्या देखिन थालेका बताउँदै सहकारीमा खाता खोल्दा सबै बुझेर भरपर्दो सहकारीलाई मात्र विश्वास गर्नुपर्ने बताएका थिए । त्यसैगरी बेलबारी ७ मा रहेको परिश्रमी सामाजिक उद्यमी महिला सहकारी संस्थाले पनि जेष्ठ सदस्यलाई सम्मान गरेको छ ।
६५ बर्ष माथिका जेष्ठ सदस्यलाई सम्मान गरेको सहकारीले जनाएको छ । त्यस्तै लेटाङ बचत तथा ऋण सहकारी संस्थाले पनि ७१ बर्षमाथिका जेष्ठ सदस्यहरुलाई सम्मान गरेको छ । ४३ जना जेष्ठ सदस्यलाई सम्मान गरिएको सहकारीका अध्यक्ष गोपाल बाराकोटीले जानकारी दिए । जेष्ठ सदस्यलाई हिड्नको लागि सजिलो होस् भन्ने उदेश्यले सहकारीले लौरो पनि प्रदान गरेको छ ।
Leave a comment