सहकारी महासम्मेलन : हजारको सहभागिता, दर्जन विषयमा छलफल 

सहकारी महासम्मेलन : हजारको सहभागिता, दर्जन विषयमा छलफल  :: Sahakari Akhabar

काठमाडौं । चैत २३ गतदेखि २५ सम्म आयोजना हुने तेस्रो सहकारी महासम्मेलनमा एक हजार जनाको सहभागिता हुने भएको छ । महासम्मेलनको आयोजक राष्ट्रिय सहकारी महासंघले मंगलबार पत्रकार सम्मेलन गरी तिनै तहका सहकारी प्रतिनिधि, जनप्रतिनिधि, निजी क्षेत्रका व्यापारी व्यवसायीलगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकारीकर्मीहरुको उपस्थितीमा समसामयीक एक दर्जन विषयहरुमा छलफल गर्न लागिएको जानकारी दिएको छ ।

‘सहकारीको दिगोपनाका लागि स्वनियमन तथा सुशासन’ भन्ने थिमका साथ काठमाडौंको याक एण्ड यती होटेलमा हुने महासम्मेलनको उद्घाटन चैत २३ गते प्रधानमन्त्री पुष्पकमल दाहालले गर्नेछन् । यस्तै समापन भने पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको छ ।

महासम्मेलन अवधिमा सरकारका पूर्व अर्थमन्त्री, मन्त्री, पूर्व गर्भनर, सचिवसहित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकारी विज्ञहरूको प्रस्तुति रहनेछ । यस्तै अस्ट्रेलिया, जापान, भारत लगायत देशका सहकारी विज्ञहरुको अनुभवको समेत प्रस्तुति रहने महासम्मेलन स्टेरिङ कमिटीकी सदस्य सचिव तथा महासंघकी महाप्रवन्धक चित्रा थामसुहाङले जानकारी दिइन् ।

यसैगरी महासम्मेलनको उद्घाटन सत्रमा नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले नेपालको अर्थतन्त्र र सहकारीको विषयमा मुख्य वक्ताको रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यस्तै अन्तर्राष्ट्रिय सहकारी महासंघका अध्यक्ष एरियल ग्वार्कोले भर्चुअल रूपमा सम्बोधन गर्नेछन् ।

समहासम्मेलनमा अन्तर्राष्ट्रिय सहकारी महासंघ एसिया प्रशान्त क्षेत्रका अध्यक्ष चन्द्रपाल सिंह यादव, अल चाइना फेडरेसन अफ सप्लाई एण्ड मार्केटिंग कोअपरिभका उपाध्यक्ष काई झेनहोंग, नेशनल एग्रिकल्चर को–अपरिटिभ फेडरेशन, दक्षिण कोरिया उपाध्यक्ष जे सिक लि, जापानिज कन्जुमर  कोअपरेटिभ युनियनका उपाध्यक्ष सितोसे अराई, नेडाक अध्यक्ष पंकज कुमार वन्स्याल समेतको सहभागिता रहने महासंघले जानकारी दिएको छ ।

महासम्मेलनमा ११ वटा विषयमा कार्यपत्र प्रस्तुती तथा छलफल र एउटा विषयमा भने प्यानल छलफलको कार्यक्रम तय गरिएको छ । सहासम्मेलनले सहकारी अभियानलाई नयाँ उचाइमा पुर्याउने राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेँलले पत्रकार सम्मेलनमा बताए ।



Leave a comment