बागलुङ । बागलुङका सहकारीकर्मीहरुले स्वनियमन र सुशासनलाई ख्याल गर्दै सहकारीको साख जोगाउने प्रतिवद्धता व्यक्त गरेका छन् । ६६ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर जिल्ला वचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङले आइतवार आयोजना गरेको लेखा सुुपरीवेक्षण समितिको क्षमता अभिवृद्धि तालिम समापनका क्रममा ५ बुदे प्रतिवद्धता जारी गरी सहकारीको साख जोगाउने बताएका हुन् ।
सहकारीका लेखा सुपरीवेक्षण समितिका संयोजक तथा सदस्यहरुले लेखा सुपरीवेक्षण समितिको भूमिका पूर्ण रुपमा निर्वाह गरी उच्च कार्य सम्पादन र एकरुपता कायम गर्नका लागि सबै सहकारी संस्थाहरुले आन्तरिक लेखा परीक्षण सम्बन्धी आन्तरिक कार्यविधि निर्माण गरी लागु गर्न प्रतिवद्ध व्यक्त गरेका छन् ।
सहकारी संघ संस्थाले गर्ने दैनिक आर्थिक, प्रशासनिक एवं अन्य काम कारवाही प्रचलित ऐन, नियम, कानुन तथा संस्थाले तयार पारेको विनियम, नीति एवं कार्यविधि अनुसार सञ्चालन भएको छ छैन भनेर जाँच वा अनुगमन वा लेखा परीक्षण गरी त्रैमासिक रुपमा तोकिएको निर्धारित ढाँचामा प्रतिवेदन सञ्चालक समिति समक्ष पेश गर्न र दिइएको सुझाव कार्यान्वयन नभएमा साधारणसभा समक्ष प्रतिवेदनमा समावेश गरी पेश गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
लेखा सुपरीवेक्षण समितिको आवश्यकताका आधारमा २५ करोड भन्दा बढी वासलात रहेको सहकारी संस्थामा आन्तरिक नियन्त्रण प्रणाली चुस्त दुरुस्त राख्नका लागि आन्तरिक लेखा परीक्षक नियुक्तीका लागि सञ्चालक समिति समक्ष न्यूनतम ३ वटा कम्पनीका नाम सिफारिस गर्न प्रतिवद्ध सहकारीकर्मीहरुले गरेका छन् ।
लेखा सुपरीवेक्षण समितिका क्षमता अभिवृद्धिका लागि राष्ट्रिय गोष्ठी तथा तालिममा सक्रिय सहभागिा जनाउने र हरेक वर्ष कम्तिमा एउटा क्षमता अभिवृद्धि कार्यक्रममा सहभागी हुने जनाइएको छ । कार्यक्रमको उद्घाटन बागलुङ नगरपालिकाका प्रमुख बसन्त कुमार श्रेष्ठले गरेका थिए ।
श्रेष्ठले वित्तीय क्षेत्रमा देखिएको समस्याका कारण सहकारीमा समेत चुनौती थपिएको भन्दै सबै मिलेर सहकारीको साख जोगाउन लाग्नु पर्ने बताए ।
पूँजि बजार यतिबेला धरमराएको छ, यस्तो अवस्थामा सहकारी मात्रै होइन, समग्र वित्तीय कारोबार गर्ने संघ संस्था र सरकार समेत सचेत भएर अगाडि बढ्नु पर्ने उनको भनाइ थियो ।
जिल्ला वचत तथा ऋण सहकारी संघ बागलुङका अध्यक्ष तथा नेफ्स्कुनका सञ्चालक चण्डी प्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका सञ्चालक तथा जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष हुमा कुमारी जि.सी.(अञ्जु), राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसी, जिल्ला सहकारी संघका सल्लाहकार तेजेन्द्र थापा मगरको उपस्थिति रहको थियो ।
नेपाल वचत तथा ऋण सहकारी संघ (नेफ्स्कुन) का तालिम अधिकृत उमेश कोइराला र बागलुङ नगरपालिका सहकारी शाखाका प्रमुख प्रेम प्रसाद शर्माले लेखा सुपरीवेक्षण समितिको भूमिका र प्रभावकारिता विषयमा सहजीकरण गरेका थिए ।
Leave a comment