हाइलाइट

कर्णालीमा फस्टाउदै सहकारी 

कर्णालीमा फस्टाउदै सहकारी  :: Sahakari Akhabar

काठमाडौैं । सहकारीको संख्या र कारोबारको हिसावले सबैभन्दा कमजोर प्रदेश हो कर्णाली । संघिय सहकारी विभागले २ वर्षअघि गरेको अध्ययनमा सातप्रदेशमध्ये कर्णालीमा सबैभन्दा कम संख्या भएको कर्णालीमा प्रदेश सरकार गठनसँगै नीति, कार्यक्रम तथा बजेटमा प्राथमिकता दिएपछि कर्णालीमा सहकारी फस्टाउदै गएको छ । सहकारीको संख्यात्मक विकास र विस्तारसँगै व्यवसायीक गतिविधिमा सहकारीहरु सक्रिय हुन थालेका हुन् ।

राष्ट्रिय सहकारी बैंकका कर्णाली प्रदेश संचालक कालीबहादुर महतारा सहकारी अभियानमा पछाडी परेको कर्णाली क्षेत्र प्रदेश र स्थानिय सरकारको प्राथमिकतापछि फस्टाउन थालेको बताउछन् । ‘प्रदेश र स्थानिय सरकारको सक्रियताका कारण कर्णालीमा सहकारीका गतिविधिहरु फस्टाएका छन्’ उनले भने, ‘प्रदेश र स्थानिय सरकारहरुका नीति तथा कार्यक्रम र बजेटमा प्राथमिकता दिएपछि सहकारी विस्तारमा सजिलो भएको हो ।’ प्रदेश र स्थानिय सरकारले सहकारीहरुलाई विभिन्न व्यवसायीक कामका लागि अनुदान दिएर प्रोत्साहन गर्दै आएका छन् । सहकारीको विस्तारसँगै आर्थिक तथा सामाजिक रुपमा पछि परेका वर्गको पनि उत्थान भएको उनको भनाइ छ ।

सहकारीकै कारण सर्वसाधारणहरु स्वरोजगार बन्नुका साथै महिला, दलित तथा विपन्न वर्गको सामाजिक रुपमा समेत रुपान्तरण समेत योगदान पुगेको छ । यसैगरी सहकारीले गर्दा स्थानिय उत्पादनहरुको बजारीकरणमा पनि मद्दत पुगेको छ । तर, प्रदेश र स्थानिय सरकारको अनुदानका कारण सहकारीहरु स्वाबलम्बी हुन छाडेर अनुदानमुखी बन्न थालेका छन् ।

कर्णाली प्रदेशले भूमिहीन तथा किसानलाई व्यवसायिक करार खेती, सहकारी खेती र सामुहिक खेतीका लागि प्रोत्साहन गर्न अनुदान दिदै आएको छ । यस्तै कृषि उत्पादन वृद्धिका लागि कृषि पूर्वाधार भन्ने नाराका साथ कृषि क्षेत्रमा सहकारी र निजी क्षेत्रको लगानी आकर्षित गर्दै सरकारी, निजी र सहकारी क्षेत्रको साझेदारीमा बीऊ प्रशोशन केन्द्र, संकलन केन्द्र, हाटबजार, सोलार स्टोर, र स्टक स्टोर, कोल्ड च्याम्बर, कृषिजन्य उद्योग लगायत कृषि पूर्वाधार र बजारीकरण गर्न अनुदान दिने कार्यक्रम बजेटमै उल्लेख गरेको छ ।

संस्था र सदस्य बढे 

कर्णाली प्रदेशका सहकारीमा आकर्षणसँगै सदस्यहरुको संख्या बृद्धि भएको छ । संस्थाहरुको संख्यात्मक विस्तार र सर्वसाधारणमा आकर्षण बढेसँगै सहकारीमा सदस्य थपिएका हन् । नेपाल राष्ट्र बैंकले गरेको प्रादेशिक आर्थिक गतिविधि सम्बन्धी अध्ययनमा अघिल्लो वर्षमा ८.५७ प्रतिशतले बढेको सहकारीको सदस्य संख्या गत वर्षमा ९.४६ प्रतिशतले वृद्धि भएको छ । सदस्यको संख्या बढेपछि कारोबारको विस्तारमा भने कमी आएको छ ।

गत वर्षमा कर्णाली प्रदेशमा सहकारी संस्थाहरुको कुल पुँजी ३०.७७ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो पुँजी ५९.३७ प्रतिशतले बढेको थियो । त्यस्तै, आर्थिक वर्ष २०७७÷७८ को असार मसान्तमा २४.६७ प्रतिशतले बढेको कुल बचत चालु आर्थिक वर्षमा ६.१० प्रतिशतले बढेको देखिन्छ ।

कर्णाली प्रदेश, सुर्खेत तथा सम्बन्धीत सहकारी संस्थाहरुको गत वर्षमा कुल ऋण प्रवाह करिव १८.०४ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षमा ८.५७ प्रतिशतले बढेको सदस्य संख्या गत वर्षमा ९.४६ प्रतिशतले वृद्धि भएको छ ।

यस्तै गत वर्षमा सहकारी संस्थाले सिर्जना गरेको रोजगारीमा ६.२५ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै अघिल्लो वर्षमा ५.५६ प्रतिशतले घटेको सहकारी संस्थाको शाखा संख्या गत वर्षमा ५.८८ प्रतिशतले वृद्धि भएको छ । प्रदेशका सहकारी संस्थाहरुले कुल पुँजी र कुल बचतको तुलनामा अधिक मात्रामा कर्जा प्रवाह गरेको प्रतिवेदनमा उल्लेख छ ।

संघिय सरकार सहकारी विभागको तथ्यांक अनुसार कुल सहकारी सङ्ख्या १ हजार ९ सय ६७ रहेको छ । यो सबैभन्दा कम सहकारी संघसंस्था  रहेको प्रदेश हो । यस प्रदेशमा सहकारीका कुल सदस्य सङ्ख्या ४ लाख ४ हजार ९ सय ५६ जना रहेको छ । जसमा महिला २ लाख ७२ हजार ३३ जना र पुरुष १ लाख ३२ हजार ९ सय २३ जना रहेका छन् ।

यस प्रदेशमा रहेका सहकारीको कुल शेयर पुँजी १ अर्ब ९१ करोड ८० लाख ७३ हजार ४ सय ९८ रुपयाँ, कुल बचत सङ्कलन ८ अर्ब ८६ करोड ८१ लाख ७८ हजार ७ सय ९२ रुपयाँ र कुल ऋण लगानी ७ अर्ब ९२ करोड ५२ लाख ४८ हजार ४ सय ८५ रुपयाँ रहेको छ । यस प्रदेशमा सहकारी मार्फत ४ हजार ५ सय ३४ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।



Leave a comment