हाइलाइट

कर्णाली प्रदेशका पाँच जिल्लामा सहकारीमार्फत सुपथ मूल्य पसल

कर्णाली प्रदेशका पाँच जिल्लामा सहकारीमार्फत सुपथ मूल्य पसल :: Sahakari Akhabar

काठमाडौ। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कर्णाली प्रदेशका पाँच जिल्लामा सहकारीमार्फत सुपथ मूल्य पसल सुरु गरेको छ।कम्पनीले विश्व खाद्य कार्यक्रमको प्राविधिक सहयोगमा कर्णाली प्रदेशका सुर्खेत, जाजरकोट, दैलेख, रुकुम, रोल्पामा सहकारी संस्थामार्फत सुपथ मूल्य पसल सुरु गरेको हो ।

कम्पनीले पहिलो चरणमा सुर्खेतको भेरी पशु तथा कृषि उत्पादन प्रशोधन सहकारी संस्थामार्फत खाद्यान्न वितरण सुरु गरेको छ । पहिलो चरणमा कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट सहकारी संस्थामार्फत खाद्यान्न वितरण सुरु गरिएको र त्यसपछि अन्य जिल्लामा पनि विस्तार गरिँदै जाने कम्पनीले जनाएको छ । कम्पनीले दुर्गमका २४ जिल्लासँगै सुगम जिल्लामा खाद्यान्न वितरण गर्दै आएको छ।

कम्पनीको कार्यालय र डिपो नभएका स्थानमा सर्वसाधारणलाई सुपथ मूल्यमा खाद्यान्न उपलब्ध गराउन सहकारी संस्थामार्फत खाद्यान्न वितरण सुरु गरिएको कम्पनीले जनाएको छ ।

सहकारी संस्थालाई ७ प्रतिशत छुटमा खाद्यान्न उपलब्ध गराएर वितरण सुरु गरिएको जनाइएको छ । कम्पनीबाट सहकारी संस्थाले दाल, चामल, तेल, गेडागुडी खरिद गरेर बिक्री सुरु गरेका छन्  ।

कम्पनीले चालु आर्थिक वर्षको साउनदेखि चैत १२ गतेसम्म सुगम तथा दुर्गम जिल्लामा एक लाख २१ हजार ५४६ क्विन्टल खाद्यान्न वितरण गरेको छ ।

दुर्गम जिल्लामा ६१ हजार ५६४ क्विन्टल र सुगम जिल्लामा ५९ हजार ९८२ क्विन्टल चामल वितरण भएको कम्पनीले जनाएको छ । कम्पनीसँग हाल दुई लाख चार हजार ४६२ क्विन्टल खाद्यान्न मौज्दात छ ।

कम्पनीसँग ६२ हजार ३६१ क्विन्टल चामल र एक लाख ४२ हजार १०१ क्विन्टल धान मौज्दात छ । यसमध्ये २४ दुर्गम जिल्लामा १८ लाख ६६३ क्विन्टल चामल मौज्दात रहेको कम्पनीले जनाएको छ ।

विश्व खाद्य कार्यक्रमले सहकारी संस्थाका कर्मचारीलाई प्राविधक ज्ञान, तालिम दिने गरेको छ । कम्पनीको केन्द्रीय कार्यालयसहित सात प्रदेशमा प्रादेशिक कार्यालय, शाखा कार्यालय २५ डिपो कार्यालय २५ वटा रहेका छन् ।

डिपो कार्यालयमा कर्मचारी नहुँदा बन्द रहेका छन् । कर्मचारी अभावले डिपो कार्यालय बन्द हुँदा खाद्यान्न ढुवानी गर्न नसकिएको कम्पनीले जनाएको छ ।



Leave a comment