पोखरा । पोखरा महानगरपालिकाको सहकारी शाखाले ‘सहकारीको दीगोपन, स्वनियमन र सुशासन’ विषयक कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । गोष्ठीले सुशासन सहितको उत्कृष्ट, गुणस्तरीय, दीगो र नीतिगत सर्वोच्चता भएको सहकारी निर्माण गर्नुपर्नेमा जोड दिएको हो।
कार्यशालाले सदस्यतामा संख्यात्मकभन्दा गुणात्मक तवरले वृद्धि गर्नुपर्ने र सदस्य ग्राहक नभई मालिक बन्नुपनेमा जोड दिएको छ । ६६औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर शुक्रवार कार्यशाला गोष्ठी गरेको थियो ।
गोष्ठीले ११ बुँदे निष्कर्षसहित समयानुकूल आधुनिक प्रविधिको समुचित प्रयोग गर्न र सञ्चालक तथा कर्मचारीलाई दक्ष बनाउन समयसमयमा विषयगत तालिम तथा प्रशिक्षणको व्यवस्था मिलाउनुपर्ने उल्लेख गरेको छ ।
तरलता व्यवस्थापन र ऋण असूलीलाई प्रभावकारी बनाउन सर्वप्रथम नेतृत्व र एकाघर परिवारमा भएको खराब कर्जा असूली गर्नु गराउनुपर्ने जनाइएको छ।
सहकारी अभियानविरुद्ध भइरहेको आक्रमणलाई निस्तेज पार्न सबै सहकारी संघसंस्था र नियामक निकाय प्रतिबद्ध हुनुपर्ने आवश्यकता औंल्याइएको छ ।
सदस्य केन्द्रित कार्यक्रम सञ्चालन गरी सदस्यलाई निरन्तर सहकारी शिक्षा प्रदान गर्दै संस्थाप्रति प्रेमभावको सिर्जना गर्नुपर्नेमा जोड दिएको छ । त्यसैगरी सहकारीलाई उत्पादनसँग जोडेर एक सहकारी एक उत्पादन कार्यक्रमलाई सार्थक बनाउनुपर्ने उल्लेख छ ।
कार्यशालामा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सहकारी क्षेत्रको समस्यालाई अवसरको रूपमा लिनुपर्ने बताए । उनले समस्यासँगै नयाँ नीति तथा कानून बन्ने र समस्यासँग जुध्ने क्षमताको विकास हुने बताए ।
जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष सावित्रा कोइराला, कास्की बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष श्रीकान्त ढुंगाना, दुग्ध सहकारी संघका अध्यक्ष पुण्यप्रसाद पौडेल लगायतले सहकारी क्षेत्रका समस्या समाधान गर्दै यसलाई सर्वसाधारणले विश्वास एवं भरोसा गर्ने तवरबाट अघि बढाउनुपर्ने बताए ।
सहकारी समितिका अध्यक्ष रविरमण तिवारी र नेफ्स्कुनका निवर्तमान सञ्चालक भीम गुरुङले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमा सहकारी रजिस्ट्रारको कार्यालयका ईश्वरी ढकाल र नेफ्स्कूनकी सञ्चालक कमलादेवी गिरीले टिप्पणी गरेका थिए ।
Leave a comment