नयाँ वर्षसंगै देशभर सहकारीकर्मीहरुको आन्दोलन शुरु हुने

नयाँ वर्षसंगै देशभर सहकारीकर्मीहरुको आन्दोलन शुरु हुने :: Sahakari Akhabar

बागलुङ । राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लले सहकारीका समस्या समाधान गर्न सरकारसंग माग गरेकी छन्।

६६ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर जिल्ला सहकारी संघ बागलुङले शुक्रवार गरेको ‘सहकारीमा महिला सहभागिता’ विषयक जिल्ला स्तरीय गोष्ठीको उद्घाटन कार्यक्रममा मल्लले नयाँ वर्षबाट देशभर आन्दोलनको गर्ने बताएकी छन् ।

हामीले जहिले पनि शान्तिपूर्ण र भद्र रुपमा हाम्रा माग राखेका छौ, सरकारले हाम्रा माग सुनुवाई गर्ने काम भएको छैन, अभियानले सहकारी ऐनमा भएका कर्जा सूचना केन्द्र, कर्जा न्यायाधिकरण स्थापना लगायतका ऐन कार्यान्वयनका माग राखेको छ, उपाध्यक्ष मल्लले भनिन्–‘सरकारले सहकारीका माग अब पनि सुनेन भने हामी चरणवद्ध आन्दोलन गर्ने तयारीमा छौ, नयाँ वर्षसंगै देशभर सहकारीकर्मीहरुको आन्दोलन शुरु हुन्छ ।’

अभियानका तर्फबाट धेरै पटक प्रधानमन्त्री, मन्त्री, सचिव, रजिष्ट्रार लगायत सरोकारवालाहरुलाई सहकारीका समस्या समाधान गर्न अनुरोध गरेका छौ, अब अन्तिम पटक ध्यानाकर्षण गराउछौ, यदी अभियानका माग अब पनि सुनुवाई भएनन् भने देशभरका सहकारीकर्मीहरुलाई सडकमा उतार्न हामी वाध्य हुनेछौ, मल्लले भनिन् ।

राज्यले अर्थतन्त्रको तीन खब्बे नीतिमा सहकारीलाई राखेपनि व्यवहारमा त्यस्तो नपाइएको बताइनन्।अस्थिर सरकारका कारण सहकारीको वृद्धि र विकासमा समस्या आएको उनको भनाइ छ । “सहकारीका विषयमा कानून संसोधन, वर्तमान समस्या समाधान लगायतका विषयमा सहकारी मन्त्री, विभाग तथा सरोकारवाला क्षेत्रको ध्यानआर्कषण गराउदै आएका छौैं, उहाँहरुले काम समेत थाल्नुहुन्छ तर अस्थिर सरकारका कारण उहाँहरु सहकारीको विषय बुझ्न नपाउदै जानुहुन्छ”–मल्लले भनिन् ।

उनले भनिन् “सहकारीमा आबद्धताले सहकारीको मात्रै विकास हुदैन, महिलाहरुको नेतृत्वको विकास गर्नेछ, आर्थिक रुपमा महिलाहरुलाई मजबुत गराउदछ, महिलाहरुलाई चुलो र चौकाबाट बाहिर ल्याउने माध्यम अब सहकारी हो, सहकारीले नेतृत्व मात्रै हैन महिलाहरुलाई आर्थिक विकासमा सहयोग गर्दछ ।”

कार्यक्रममा बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले महिलाहरुलाई आर्थिक रुपमा सक्षम बनाउदै विभिन्न क्षेत्रमा नेतृत्वमा पुर्याउन सहकारी भरपर्दो माध्यम भएको बताइन् ।

राष्ट्रिय सहकारी बैंकका सञ्चालक राम बहादुर जिसीले सहकारीमा महिला सहभागिता र नेतृत्व विषयमा तथा संघका सल्लाहकार तेजेन्द्र बहादुर थापाले सहकारीको दिगोपन: स्वनियमन र सुशासन विषयमा सहजीकरण गरेका थिए ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) का सञ्चालक चण्डी प्रसाद शर्माले नौ बुँदे घोषणा पत्र जारी गरेका थिए । जिल्लाका १७ सहकारी संघ संस्थाहरुले संयुक्तरुपमा आयोजना गरेको गोष्ठी जिल्ला सहकारी संघका अध्यक्ष हुमा कुमारी जिसी (अञ्जु) को अध्यक्षतामा सम्पन्न भएको हो ।

जिल्ला सहकारी संघ र बागलुङ नगरपालिकाले संयुक्त रुपमा चैत १८ गते बजार सरसफाई र २० गते मुल समारोह, जिल्ला वचत तथा ऋण सहकारी संघको आयोजनामा १९ गते अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिने भएको छ ।



Leave a comment