बचत संघ सुनसरीद्धारा साकोसका वर्तमान समस्यामाथि छलफल

बचत संघ सुनसरीद्धारा साकोसका वर्तमान समस्यामाथि छलफल :: Sahakari Akhabar

सुनसरी । बचत तथा ऋण सहकारी संघले दुहबी क्षेत्रका साकोसहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको छ । सहकारी क्षेत्रमा देखिएका समस्याहरु र समाधानको पहल गर्ने उद्देश्यले संघले उक्तक्षेत्रका साकोसका अध्यक्ष तथा व्यवस्थापकहरु सँग अन्तरक्रिया गरेको हो ।

कार्यक्रममा संघका सल्लाहकार मिलिराम चौधरीले सिद्धान्त र अभियानका कार्यक्रम सञ्चालनमा ज्ञानको कमीले समस्या देखिएको बताए । उनले सिद्धान्त अनुरुप काम गरेर साकोसहरुलाई बलियो बनाउन अभियानले तालिम, गोष्ठी र कार्यक्रमहरुलाई बढाउनुपर्ने बताए ।

जनकल्याण बचत तथा ऋण सहकारीको हलमा भएको कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष प्रल्हाद दहालले कार्यपत्र प्रस्तुत गरेका थिए । नेफ्स्कून कोशी प्रदेश फिल्ड कार्यालय इटहरीका व्यवसाय अधिकृत मुकेश दहाल र कार्यक्रम अधिकृत सौभाग्य भट्टराईले सहकारीमा सुशासनकालागि आवश्यक कार्यक्रम तथा व्यवस्थाहरुका बारेमा सहजीकरण गरेका थिए ।

संघका कोषाध्यक्ष मिलन त्रितालले विश्व नै आर्थिक मन्दिबाट गुज्रीरहेको वर्तमान अवस्थामा सहकारी क्षेत्र त्यसबाट अछुतो रहन नसकेको भन्दै सहकारी अभियानलाई सुशासित ढंगले सञ्चालन गर्न सहकारी सिद्धान्त अनुरुप साकोसहरु सञ्चालित हुनुपर्ने बताए । सहभागीहरुले अभियानमा सुशासन कायम गर्न आफुहरुको पुर्ण प्रतिबद्ध भएर सहकारी सिद्धान्त अनुसार संस्था सञ्चालन गर्न कुनै कसर बाँकी नराख्ने एक्यवद्धता जनाए ।

संघको तर्फबाट ७ बुँदे दुहबी प्रतिबद्धता पत्र जारी गर्दै समापन भएको अन्तरक्रिया कार्यक्रमा संघले प्रारम्भिक संस्थाहरुका जल्दाबल्दा समस्या समाधन गर्न पहल गर्ने अध्यक्ष योगमाया सुवेदीले वताइन् । संघकी सचिव गोमा कुमारी गिरीले सिद्धान्त अनुरुप कार्यक्रममा आबद्ध साकोसहरुमा समस्या नदेखिएकोले अहिले देखिएको समस्या सबै सहकारीकर्मी मिलेर सामना गर्नुपर्ने बताइन् । 
 



Leave a comment