हाइलाइट

सहकारी दिवसको अवसरमा सामाजिक काम गर्दै मोरङका सहकारीहरु

सहकारी दिवसको अवसरमा सामाजिक काम गर्दै मोरङका सहकारीहरु :: Sahakari Akhabar

विराटनगर । राष्ट्रिय सहकारी दिवसको अवसरमा मोरङका सहकारीहरुले सामाजिक काम गरिरहेका छन् । निशुल्क शिविरहरु, रक्तदान कार्यक्रम देखि सरसफाई तथा सहकारी सचेतना कार्यक्रमको आयोजना गरिरहेका छन् ।

मोरङको लेटाङमा रहेको एकीकृत जनभावना बचत तथा ऋण सहकारी संस्थाले बुधबार सदस्यको निशुल्क स्वास्थ्य जाँच तथा परामर्श साथै रक्तदान कार्यक्रमको आयोजना गरेको छ । त्यसैगरी कानेपोखरीको रमाईलोमा रहेको रमाईलो जनएकता बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

त्यस्तै बेलबारीमा रहेको लालिगुँरास बचत तथा ऋण सहकारी संस्थाले २० गते दिवसको दिन विहानको समयमा रक्तदान कार्यक्रमको आयोजना गर्ने सहकारीका अध्यक्ष दुर्गा गौतमले जानकारी दिए । विराटनगरका धेरै सहकारीले सरसफाई कार्यक्रम आयोजना गरेका थिए भने केहीले वादविवाद प्रतियोगिता तथा खेलकुद प्रतियोगिताको आयोजना गरेका थिए ।

चैत्र २० गते ‘सहकारीको दिगोपनाका लागि स्वनियमन र सुशासन’ भन्ने मूल नाराका साथ ६६  औं राष्ट्रिय सहकारी दिवस देशभर मनाईदै आएको छ । पछिल्लो समयमा सहकारीमा देखिएका केही समस्याका कारण सहकारीहरुलाई आफ्नो संस्था बचनाउनुपर्ने चुनौति छ ।

त्यसले गर्दा नी बढी भन्दा बढी आफ्ना गतिविधि देखाएर सदस्यहरुलाई विश्वास दिलाउन सहकारीहरु लागिरहेका छन् । समुदायमा आधारित सहकारीमा त्यति समस्या नभएपनि सदस्यहरुमा विश्वास गुमेको सहकारीकर्मीहरुको भनाई छ ।

विराटनगर महानगरपालिकाले चैत्र १८ गते सहकारी र्याली निकाल्ने भएको छ । पछिल्लो समय विराटनगरमा एक पछि अर्को समस्याका कारण सहकारीप्रतिको नकारात्मक धारणालाई चिर्नको लागि र्याली निकाल्न लागिएको महानगर सहकारी शाखाले जनाएको छ ।

मोरङका सबै सहकारीले कुनै न कुनै कार्यक्रम गरिरहेको जिल्ला संघ मोरङले जनाएको छ । मूल समारोह समितिले कार्यक्रम नराखी सहकारीहरुलाई नै गर्न आग्रह गरेको संघका अध्यक्ष डिल्ली पोखरेलले बताए । सहकारी संस्थाले गर्दा सहकारीप्रति सदस्यको पनि विश्वास बढ्ने उनको  भनाई छ ।



Leave a comment