झापा । सहारा नेपाल बचत तथा ऋण सहकारीको २८औँ स्थापना दिवसको अवसरमा हाफ म्याराथन प्रतियोगिता आयोजना गर्ने भएको छ । संस्थाले चैत २१ गते स्थापना दिवसको अवसरमा २१.९ किलोमिटर दुरीको खुला हाफ म्याराथन गर्न लागिएको जनाइएको छ ।
साथै स्थापना दिवसको अवसरमा संस्थाले नगद डिपोजिट मेसिनको शुभारम्भ गर्ने र ज्येष्ठ नागरिक स्वास्थ्य हेरचाह कार्यक्रमको पनि शुभारम्भ गरिने जनाइएको छ ।
हाफ म्याराथन संस्थाको मुल कार्यालयबाट सुरु भएको प्रतियोगिता चारपानेचोक, प्रभुचोक, सांगवेद स्कुल, ओमचोक हुँदै कुशलचोक, अर्जुनधाराधाम, बिरिङखोलाको कज्वे, पानीकल, लक्ष्मीपुर हुँदै सहारा साकोस शिक्षा सदनमा आएर टुंगिने जनाइएको छ।
प्रतियोगितामा महिला र पुरुषको अलग अलग विधा हुने छ भने प्रथम हुनेलाई नगद ५१ हजार, दोस्रोलाई नगद ३१ हजार र तेस्रो हुनेलाई नगद २१ हजार र चौथोदेखि दशौँसम्म हुनेलाई नगद ५ हजार रुपैयाँ प्रदान गरिने जनाइएको छ।
प्रतियोगितामा १८ वर्षभन्दा माथिका खेलाडीहरुले सहभागिता जनाउन पाउनेछन् । झापा जिल्ला खेलकुद विकास समितिको समन्वयमा संस्थाको अतिरिक्त क्रियाकलाप उपसमितिले प्रतियोगिता आयोजना गरेको हो ।
Leave a comment