बागलुङ । बागलुङका सहकारीकर्मीहरुले सहकारीका सबै सदस्यहरुकाबीच वित्तीय साक्षरता अभियान सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । जिल्ला सहकारी संघ बागलुङले बिहीवार आयोजना गरेको एकदिने युवा लक्षित वित्तीय साक्षरता कार्यक्रमका सहभागीहरुले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् ।
नेपाल राष्ट्र बैंकको आव्हान तथा सहकारी विभागको निर्देशन अनुसार ग्लोवल मनी विक–२०२३ अन्तरगत जिल्ला सहकारी संघले वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो । विपन्न वर्गका शेयर सदस्यहरुको आर्थिक अवस्थामा सुधार ल्याउनका लागि सहकारीहरुले आयआर्जनका लागि सीप मुलक कार्यक्रमहरु सञ्चालन गर्ने, सचेतना प्रदान गर्नुका साथै आयआर्जन भएको रकमलाई कम खर्च गरी वचत गर्ने बानीको विकास गर्नका लागि वित्तीय साक्षरता अभियान सञ्चालन गरिने सहकारीकर्मीहरुको भनाइ छ ।
कार्यक्रममा सहजीकरण गर्दै राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जिसीले सहकारीहरुले आफ्ना सदस्यहरुलाई दिर्घकालिन खालका वचत अभियानका बारेमा प्रोत्साहन गर्नु पर्ने बताए ।
सहकारीका सदस्यहरुसंगै युवा तथा विद्यार्थीहरुका लागि वित्तीय साक्षरताका कार्यक्रम सञ्चालन गरी आम्दानी बढाउन, स्वस्थकर खानेकुुरा खान तथा आम्दानी गरेको रकमको निश्चित अंश दिर्घकालिन खालका वचत कार्यक्रममा सञ्चित गर्न सिकाउन उनले आव्हान गरे । सहकारीहरुमा प्राय गरेर चल्ती वचतहरु भएका कारण तरलतामा समस्या आएको चर्चा गर्दै उहाले नियमित वचत, दिर्घकालिन वचतहरुका बारेमा सचेतना आवश्यक रहेको बताए ।
कार्यक्रममा केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका सञ्चालक दिपक गौतम, जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष दुर्गा बहादुर कुँवरले सहकारीको दिगोपना र सदस्यहरुको सक्रिय सहभागिता र आर्थिक उन्नतीका लागि सहकारी संघ संस्थाहरुले वित्तीय साक्षरता अभियानलाई व्यापक बनाउनु पर्ने बताए ।
Leave a comment