काठमाडौं । सेतीओपी कोटेश्वरमा रहेको सुयोग्य बचत तथा ऋण सहकारी संस्थाले १५ औं स्थापना दिवस मनाएको छ । आईतबार स्थापना दिवसको अवसरमा संस्थाले ३० जना जेष्ठ सदस्यलाई सम्मान गरेको छ । संस्थाले जेष्ठ सदस्यलाई ब्ल्याङ्केट र नगदसहित सम्मान गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि नेफ्स्कूनका पुर्व अध्यक्ष तथा सहकारी विज्ञ कैलाशभक्त प्रधानाङ्ग, संस्थाका अध्यक्ष पम्फा न्यौपाने र प्रमुख सल्लाहकार चित्रा कुमारी थामसुहाङ सुब्बाले संयुक्त रुपमा सदस्यलाई सम्मान गरेका थिए । संस्थाले विगत २ वर्षदेखि स्थापना दिवसको अवसरमा जेष्ठ सदस्य सम्मान गर्दै आएको छ ।
कार्यक्रममा प्रमुख अतिथि प्रधानाङ्गले सुयोग्य साकोसले गरेको असल अभ्यासबाट अन्य सहकारीले सिको गर्नुपर्ने बताए । सहकारी नाफामूलक नभई सेवामूलक हुनुपर्ने समेत बताए ।
संस्थाका प्रमुख सल्लाहकार चित्रा कुमारी थामसुहाङ सुब्बाले सहकारीले गरेको गतिविधिको बारेमा निगरानी गर्न सदस्यहरुलाई अनुरोध गरिन् । उनले सदस्यहरुको सुख दुःखमा साथ दिने सहकारी संस्थाहरु भएका कारण सदस्यको साथ विना सहकारी अघि बढ्न नसकिने समेत बताईन ।
संस्थाका अध्यक्ष पम्फा न्यौपानेले संस्थाको कारोबार सानो भएपनि सदस्यलाई दिने सेवामा कुनै कमी नगरेको बताईन । वर्तमान् अवस्थामा पनि संस्थामा प्रयाप्त तरलता भएको बताउँदै अध्यक्ष न्यौपानेले ढुंकसँग बचत गर्न र आवश्यक परेको अवस्थामा कर्जा समेत लिन आग्रह गरिन् । उनले संस्थामा २५ प्रतिशतभन्दा बढी तरलता रहेको समेत जानकारी दिइन ।
Leave a comment