कैलाली। सहकारी संस्थाका व्यवस्थापन प्रमुखको संस्था कोअपरेटिभ म्यानेजर्स क्लब (सिएमसी) कैलालीको दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
कैलालीको घोडाघोडी नगरपालिका वडा नं २ स्थित तिला कर्णाली बचत तथा ऋण सहकारी संस्थाको सभाहलमा सम्पन्न कार्यक्रममा सुदूरपश्चिम प्रदेश सहकारी विभागका रजिस्ट्रार टीकाराम थापाको प्रमुख आतिथ्यता रहेको थियो ।
थापाले सहकारीहरुले सदस्यले गर्ने व्यवसायको आधारमा ऋण लगानी गर्नुपर्ने बताए । उनले सहकारीले उद्देश्य अनुरुप काम नगरेकाले केही सहकारीहरुमा समस्या देखिएको बताए ।
उनले सवै सहकारीलाई एउटै नजरले हेर्नु नहुने बताए । सहकारीले कर्मचारी तथा संचालकको क्षमता बढाउनको गि पनि आवश्यक वजेटको व्यवस्थापन गर्नु आवश्यक रहेको उनको भनाई थियो ।
राष्ट्रिय सहकारी बैंकका संचालक शिवा थापाले राम्रो काम गरिरहेका सहकारीहरुलाई पुरस्कार तथा गलत गर्नेलाई दण्डको व्यवस्था हुनुपर्ने बिचार राखिन ।
नियमनकारी निकायले सहकारीहरु अनुगमन गरि सहकारी नीति नियममा चलेकालाई प्रोत्साहन गर्ने र नीतिलाई नमानेर मनोमानी रुपमा चलेका संस्थालाई कार्वाहीको दायरा ल्याउने हो भने सहकारी क्षेत्रको थप सुधार गर्न सकिने बताइन् ।
सिएमसी कैलालीका अध्यक्ष छबिलाल जैशीको अध्यक्षतामा भएको साधारणसभामा उपाध्यक्ष लाल बहादुर भण्डारीले स्वागत मन्तव्य राखेका थिए ।
कार्यक्रममा महासचिव रुद्रप्रसाद खनालले प्रगति प्रतिवेदन, कोषाध्यक्ष प्रकाश कुमार जोशीले आयरव्यय प्रस्तुत गरेका थिए । सचिव नरेन्द्र टमट्टाले संचालन गरेको कार्यक्रममा कृष्णराज जोशी, ललित कुमार न्यौपाने, चन्द्रा चौधरी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
Leave a comment