काठमाडौं । सरकारले दूधको मूल्य वृद्धि गरेको छ । प्रतिलिटर न्यूनतम मूल्यमा थप ९.१० रुपैयाँले वृद्धि गरेको हो । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले दूधको मूल्य बढाएर ६५.५० रुपैयाँ बनाउने निर्णय गरेको हो ।
यसअघि प्रतिलिटर न्यूनतम मूल्य ५६.४० रुपैयाँ थियो । यो किसानका लागि बिक्री मूल्य हो । यसअघि किसानले दूधको उचित मूल्य पाउन नसकेको भन्दै मूल्यवृद्धिको माग गर्दै आएका थिए ।
सरकारले किसानको हितलाई ध्यानमा राखी दूधको न्यूनतम मूल्य निर्धारण गरेको बताएको छ । यद्यपि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दूधको मूल्य बढाउन जोड दिँदै मन्त्रिपरिषद्मा प्रस्ताव पेस गरेको थियो ।
समर्थन मूल्य तोकेसँगै अब यो क्षेत्रका सरोकारवालाहरू बसेर उपभोक्ता मूल्य पुनः तोकिने व्यवसायी बताउँछन् । हाल दुग्ध उद्योगले प्रतिलिटर ८६ रुपैयाँमा बिक्री गर्दै आएको छ ।
केन्द्रीय दुग्ध उत्पादक सहकारी संघ, नेपाल डेरी एसोसियसन, डेरी उद्योग संघ र डीडीसीले शनिबार छलफल गरेर उपभोक्ता मूल्य तोक्ने तयारीमा रहेको नेपाल डेरी एसोसियसनका अध्यक्ष प्रल्हाद दाहालले जानकारी दिए । यो मूल्य समर्थन मात्रै भएको तर अझै उपभोक्ता मूल्य बढ्ने उनले बताए ।
पछिल्लो पटक केन्द्रीय दुग्ध सहकारी संघले दैूधको मूल्य १० रुपैयाँ बढाउन माग गरेको थियो। संघले प्रेस विज्ञप्ती जारीगरी फागुन १५ गतेसम्म दूधको मुल्य १० रुपैयाँ बढाउन सरकारसंग माग गरेको थियो । संघले फागुन १५ गतेभित्र दूधको मूल्य बृद्धि नभए राष्ट्रिय दुग्ध विकास बोर्डले मन्त्रालयमा सिफारिस गरेको मूल्यलाई नै लागू गर्ने जनाएको थियो ।
Leave a comment