झापा । बिर्तामोडमा मुख्य कार्यालय रहको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । नोबेल मेडिकल कलेज विराटनगरको प्राविधिक सहयोग र स्थानीय समाजसेवी सूर्यप्रसाद रिमालको सहकार्यमा इलामको माई नगरपालिका वडा नं २ स्थित गरुवा बहुमुखी क्याम्पसको प्राङ्गणमा एक दिने निःशुल्क स्वास्थ्य शिविर गरेको हो ।
शिविरमा जेनेरल मेडिसिन तथा मुटुरोग, स्त्री तथा प्रसुती रोग, बालरोग, हाडजोर्नी तथा नशा रोग, न्यूरो, छाला तथा यौन रोग, नाक कान घाँटी, आँखा एवं दन्त परीक्षण गरिएको थियो । यस्तै, भिडियो एक्स–रे, इसीजी तथा ल्याब सम्बन्धी सम्पूर्ण परीक्षणसहितको शिविरमा ६९२ जना स्थानीयले सेवा लिएका थिए । संस्थाका अध्यक्ष सुवास भट्टराइका अनुसार सेवाग्राहीहरुले स्वास्थ्य जाँच गराउनुका साथै आवश्यक पर्ने औषधीसमेत निःशुल्क प्राप्त गरेका थिए ।
संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले स्वास्थ्य शिविरको आवश्यकता र महत्वका बारेमा जानकारी दिएका थिए । कार्यकारी प्रमुख बस्नेतले चालू आवमा आजको मितिसम्म संस्थाले औषधी उपचार खर्चको आधारमा ५७१ जना शेयर सदस्यलाई ७१ लाखभन्दा बढी राहत रकम उपलब्ध गराइसकेको र आगामी दिनहरुमा समेत संस्थाले यस किसिमको सामाजिक कार्यलाई निरन्तरता दिँदै सदस्यहरुलाई प्रत्यक्ष रुपले सेवा प्रदान गर्ने प्रतिवद्धता जनाएका थिए ।
Leave a comment