सहकारी जोगाउनका लागि सदस्य जागरण अभियान चलाउन सुझाव 

सहकारी जोगाउनका लागि सदस्य जागरण अभियान चलाउन सुझाव  :: Sahakari Akhabar

पर्वत । विश्वभर देखिएको वित्तीय संकटबाट सहकारी क्षेत्रलाई जोगाउनका लागि सदस्यहरुका बीचमा जागरण अभियान सञ्चालन गर्नु पर्नेमा पर्वतको कुश्मामा आयोजित एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् ।

जिल्ला सहकारी संघ पर्वतको फागुन ९ गते सम्पन्न विशेष साधारणसभाबाट निर्वाचित सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिका पदाधिकारी तथा सदस्यहरुलाई वधाई ज्ञापनसंगै समसामयिक विषयमा भएको अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले सहकारी जोगाउन सदस्य नै सक्रिय हुनु पर्नेमा जोड दिएका हुन् ।

सहकारी सदस्यको सक्रिय सहभागितामा सञ्चालन हुने व्यवसाय हो, सदस्यहरुको सहभागिता बढाउन, संकटमा साथ दिन र समस्याको समाधानमा सहजीकरणका लागि सहकारीहरुले सदस्य जागरण कार्यक्रम सञ्चालन गर्नु पर्नेमा सबैको जोड थियो ।

राष्ट्रिय सहकारी महासंघका सञ्चालक हुमा कुमारी जिसी (अञ्जु)ले सहकारीलाई सदस्यको आवश्यकता र चाहनामा आधारित भएर सञ्चालन गर्न आवश्यक रहेको बताइन् ।

कार्यक्रममा नेफ्स्कुनका सञ्चालक चण्डीप्रसाद शर्मा, जिल्ला सहकारी संघ पर्वतका नवनिर्वाचित अध्यक्ष शेषराज रेग्मी, कुश्मा नगरपालिका सहकारी शाखाका प्रमुख ऋषिराम शर्मा लगायतले सहकारी क्षेत्रका समस्या र समाधानका उपायका बारेमा आ–आफ्नो धारणा राखेका थिए । जिल्ला सहकारी संघका पदाधिकारी तथा सदस्यहरुलाई नेफ्स्कुन र राष्ट्रिय सहकारी बैंकले वधाई तथा शुभकामना दिएका थिए ।



Leave a comment