काठमाडौं । देलखाको मैनापोखरीमा मुख्य कार्यालय रहेको जनसचेतन बचत तथा ऋण सहकारी संस्थाले काठमाडौंमा पनि सेवाकेन्द्र संचालनमा ल्याएको छ । संस्थाले जडीबुटी चोकमा सेवाकेन्द्र सञ्चालनमा ल्याएको हो।
काठमाडौं बस्ने सदस्यहरुको आवश्यकता अनुसार सेवाकेन्द्र सञ्चालनमा ल्याएको जनाएको छ । संस्थाका १५ हजारभन्दा बढी सदस्यहरु काठमाडौंमा बसी विभिन्न ब्यवसाय गर्दै आएकाले उनीहरुलाई सहज रुपमा वित्तीयलगायतका सेवा दिन सेवाकेन्द्र सञ्चालनमा ल्याइएको जनाएको छ ।
संस्थाका अध्यक्ष हेमन्त चौलागाईले ‘शेयर सदस्यहरुको निकै लामो समयदेखिको मागलाई पूरा गर्न सफल भएको बताए । अब शेयर सदस्यले जडीबुटीमा रहेको सेवाकेन्द्रमार्फत सजिलै वित्तीय कारोबार गर्न पाउने बताए।
सेवाकेन्द्रको राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केवी उप्रेतीले उद्धघाटन गरेका थिए । केन्द्रको उद्घाटन गर्दै उप्रेतीले अहिले सहकारी क्षेत्रलाई चारैतिरबाट आक्रमण भैरहेकोले यसका विरुद्द एकजुट हुन सबै सहकारीलाई आव्हान गरे । यतिबेला सहकारीका लागि निकै ठूलो संकटको बेला भएकोले सहकारी अभियान जोगाउन सहकारीकर्मीहरु सचेत ढंगले आफ्नो क्षेत्रमा लाग्नुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा नेफ्स्कुनका सन्चालक तथा बागमती प्रोस्कुनका महासचिव जीवसराज खड्काले सहकारी अभियानको उत्कृष्ट सहकारी जनसचेतन भएकाले अन्य सहकारीले पनि यसबाट सिकेर शेयरसदस्यको भावना अनुरुप काम गर्न आग्रह गरे ।
संस्थाका संस्थापक अध्यक्ष यज्ञराज ढुंगेलले सबै सहकारीहरु सहकारीको मूल्य, मान्यता र कानून अनुसार चल्ने हो भने यो अभियानमा समस्या नहुने बताए । संस्थाका पूर्व सिइयो कृष्ण कुमार श्रेष्ठले जनसचेतन सहकारीले समय अनुसार आफूलाई बजारमा लैजान सकेकाले दिन प्रतिदिन सफलता हाँसिल गरेको बताए ।
Leave a comment