काठमाडौं । केन्द्रीय दुग्ध सहकारी संघले फागुन १ गतेदेखि दूधको मूल्य बृद्धि नभए आन्दोलन घोषणा गर्ने भएको छ । संघले कृषि मन्त्रालयलाई फागुन १ गते दूधको मूल्य बृद्धि गर्न अल्टिमेटम दिदै उक्त समय सीमा भित्र दूधको मूल्य बृद्धि नभएमा आन्दोलन गर्ने जनाएको छ ।
संघले प्रेस विज्ञप्ती जारी गर्दै उक्त समय सिमामा दूधको मूल्य वृद्धि नगरे डेरी उद्योगीहरुको समन्वयमा संयुक्त घोषणा गरी दूधको मूल्य बृद्धि गर्ने जनाएको छ । त्यसैगरी कृषकहरुलाई पशुपालन पेशामा अकर्षित गराई स्वदेशमै दूधलाई आत्मनिर्भर गराई विदेशमा समेत निर्यात गर्न सक्ने पशुपालन पेशाबाट युवापंक्तिहरु पलायन हुने अवस्थाबाट बचाई जनाएको छ ।
पशुपालन पेशालाई आकर्षित गर्न लागतको आधारमा मूल्य बद्धि गर्न अपरिहार्य भएको संघले जनाएको छ । विज्ञप्तीमा भनिएको छ, ‘लागत अनुसारको मूल्य बृद्धि गरि स्वदेशमा दूध तथा दुग्धजन्य पदार्थमा आत्मनिर्भर बनाउन मूल्य बृद्धिको लागि कृषि मन्त्रालय तथा सम्बन्धित सरोकारवाला निकायहरुलाई ध्यानाकर्षण गराईन्छ, अन्यथा बाध्य भएर केन्द्रीय दुग्ध सहकारी संघको नेतृत्वमा दुग्ध सहकारी संघ संस्था दुग्ध उत्पादक कृषकहरु समेत आन्दोलित रहने ध्यानार्कण गराइन्छ ।’
केन्द्रीय दुग्ध सहकारी संघले नेपालमा रहेका १८७२ दुग्ध उत्पादक सहकारी संस्थाद्वारा ६ लाख परिवारले उत्पादन गरेको दूध संकलन गर्ने गरेको जनाएको छ । संघले औपचारीक क्षेत्रमा दैनिक ११ लाख लिटर दूध संकलन गरि ६ करोडको हाराहारीमा शहरको पूँजी दैनिक गाउँ पुर्याएर गरीव विपन्न किसानहरुको आयआर्जनमा टेवा पुर्याएको दावी गरेको छ ।
दुग्ध उत्पादक सहकारी संस्थाका कृषकहरुको आफैले सहकारी गठन गरी दूघ संकलन गरीरहेको र वैदेशिक रोजगारमा गएका युवापङ्ती पनि हाल दुग्ध उत्पादन पेशामा लागेको विज्ञप्तीमा उल्लेख छ ।
सहकारी मार्फत व्यवसायीक पशुपालन गरी दुग्ध उत्पादन क्षेत्रमा अघि बढिरहेको अवस्थामा यस पेशाप्रति आकर्षित गराई देशलाई दूधमा आत्मनिर्भर बनाउन, विदेश समेत निर्यात गर्न सक्ने अवस्था रहेकोमा हाल दूधबाट बनेको दुग्धजन्य पदार्थ छुर्पिसमेत बाह्य मुलुकमा निर्यात भैरहेको, हाल कच्चा दूधको मूल्य बृद्धि नहुनु अन्य पशुलाई खुवाउने पराल, दाना चोकर, औषधि लगायतको मूल्य अत्याधिक बृद्धि भएको जनाएको छ ।
त्यसैगरी दूधको मूल्य बृद्धि हुनुमा कोभिडको प्रभावबाट पशुपालन पेशा जर्जर अवस्थामा पुग्नु, पशुवस्तु अनुत्पादक रहनु कृषकहरुले उद्योगबाट समयमा भुक्तानी नपाउनुको कारणले गर्दा फ्लस सिजनमा पनि दूध उत्पादनमा ह्रास आइरहेको बताइएको छ । प्रधानमन्त्री कार्यालयमा दुधको मूल्य वृद्धि गर्न पौष २१ गते पत्राचार गरी पटक पटक ध्यनाकर्षण समेत गर्दा मन्त्रालय गम्भीर नभएको संघका अध्यक्ष अम्मर बहादुर कँुवरद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।
Leave a comment