हाइलाइट

दुग्ध उत्पादक सहकारीकर्मीलाई गुणस्तर र लेखा तालिम        

दुग्ध उत्पादक सहकारीकर्मीलाई गुणस्तर र लेखा तालिम         :: Sahakari Akhabar

बागलुङ । बागलुङ दुग्ध उत्पादक सहकारी संघमा आवद्ध दुग्ध सहकारी संस्थाका सञ्चालक तथा कर्मचारीहरुका लागि सञ्चालित तीनदिने गुणस्तर तथा लेखा व्यवस्थापन तालिम मंगलवार सम्पन्न भएको छ ।

बागलुङ दुग्ध उत्पादक सहकारी संघको आयोजना तथा राष्ट्रिय सहकारी बैंकको प्राविधिक सहयोगमा सञ्चालित तालिममा दूध तथा दुग्धजन्य पदार्थको गुणस्तर बढाउने तथा लेखा प्रणालीलाई व्यवस्थित रुपमा राख्ने विषयमा जानकारी गराइएको थियो ।

तालिममा समापनका क्रममा सहभागीहरुलाई प्रमाणपत्र वितरण पछि बोल्दै राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जिसीले उत्पादनलाई गुणस्तरीय बनाउन तथा सहकारीले गर्ने कारोबारलाई पारदर्शी र व्यवस्थित गराउनका लागि तालिम सहयोगी हुने धारणा राखे ।

उत्पादनसंगै वित्तीय कारोबार समेत हुने भएकाले दुग्ध सहकारीहरुको लेखा प्रणालीलाई थप व्यवस्थित र सदस्यमैत्री बनाउनु पर्ने बताए ।उत्पादन क्षेत्रमा काम गर्नेहरुका लागि उत्पादन लागत कम गर्ने समस्या छ, उत्पादन लागत कम गर्न र उत्पादकहरुलाई जोगाउनका लागि राज्यको भूमिका प्रभावकारी हुनु पर्नेमा जिसीको भनाइ थियो ।

बागलुङ दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष तथा केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका सञ्चालक दिपक गौतमले उत्पादक सहकारीहरुका लागि राज्यको भूमिका कहि कतै नभएकोले समन्वय र सहकार्य गर्न आग्रह गरे ।

राष्ट्रिय उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठले बागलुङ दुग्ध उत्पादक सहकारी संघ मार्फत सदस्यहरुले उत्पादन गरेको दूधले बजारको धेरै माग पुरा गरेको बताए ।

संघमा आवद्ध १४ वटा सहकारी संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको तालिममा राष्ट्रिय सहकारी बैंकका तर्फबाट मोहन प्रसाद अधिकारी, युवराज त्रिपाठी लगायतले सहजीकरण गरेका थिए । 



Leave a comment