चीना थापा, विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका ४ हात्तिमुडामा रहेको महालक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले विभिन्न कार्यक्रम गरी रजत बर्ष मनाएको छ । २०५४ साल माघ ७ गते स्थापना भएको सहकारीले शनिबार र आईतबार दुई दिन रजत उत्सवको रुपमा मनाएको सहकारीका अध्यक्ष खेमराज गौतमले जानकार दिए ।
तत्कालिन हात्तीमुडा गा.वि.सका समाजसेवी, बुद्धिजीवि, किसान, मजदुर, व्यापारी र स्थानीय समुदायका ७७ जना व्यक्तिहरुबाट २०५४ माघ ७ गते स्थापना भएर २०५५ साल श्रावण ५ गते तत्कालिन जिल्ला सहकारी कार्यालय मोरङमा दर्ता गरी संचालनमा आएको उनले बताए । महालक्ष्मी साकोस पूर्णरुपमा समुदायमा आधारित बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्था भएको पनि अध्यक्ष गौतमले जानकारी दिए ।
रजत उत्सवमा विविध कार्यक्रम
रजत उत्सवको अवसरमा सहकारीले माघ ७ अर्थात शनिकार रक्तदान कार्यक्रम, हाजिरी जवाफ प्रतियोगिता र म्युजिकल चेयर प्रतियोगिताको आयोजना गरेको थियो । त्यस्तै माघ ८ अर्थात आईतबार एक औपचारिक कार्यक्रम गर्दै सहकारीले सहकारी गित, कविता प्रतियोगिता पनि आयोजना गरेको थियो ।
सहकारीले रजत उत्सवको अवसरमा स्थापना कालमा रहेर सहकारीमा योगदान दिएका पदाधिकारी तथा सदस्यहरलाई सम्मान गरेको थियो भने सहकारीले सञ्चालन गरेको प्रतियोगिताहरुमा प्रथम, द्धितिय र तृतीय हुने विजेताहरुलाई प्रमाण पत्र र नगद सहित सम्मान गरेको थियो ।
समुदाय केन्द्रित सहकारीमा कहिले पनि समस्या आउँदैन
दुई तीन विभिन्न कार्यक्रम गरेर रजत उत्सव मनाएको सहकारीले आईतबार एक औपचारिक कार्यक्रम गरेको थियो । सहकारीका अध्यक्ष गौतमको अध्यक्षता तथा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघकी सञ्चालक गोमा नेपालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले समुदायमा आधारित सहकारीहरुमा कहिले पनि समस्या नआउने बताएका छन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपालले समुदायमा आधारित नभई व्यक्ति केन्द्रित सहकारीका कारण सहकारी क्षेत्रले मद्नामी सहनुपरेको बताएकी छिन् । बाहिरबाट आउने सेवा केन्द्र खोल्ने र बढी व्याज दिने प्रलोभनमा पैसा उठाई लिएर भाग्ने प्रवृतिले सहकारी क्षेत्रमा समस्या देखिएको उनले बताईन् ।
सदस्यहरुले पनि संस्थाको कस्तो खालको हो भनेर नबुझी सदस्य बन्ने र बढी व्याज पाउने लोभमा पैसा जम्मा गर्नाले बचत नै डुवेको अवस्थामा रोईकराई गर्ने गरेको बताउँदै बचत गर्दा सहकारी कस्तो खालको हो भनेर बुझेर मात्र बचत गर्नुपर्नेमा नेपालले जोड दिईन ।
सहकारी भनेको सदस्यहरुद्धारा नियन्त्रित हुनेपर्नेमा व्यक्तिबाट नियन्त्रित भयो भने समस्या आउने बताउँदै सहकारीका हरेक गतिविधिमा सदस्यले निगरानी राख्नुपर्ने उनको भनाई छ । त्यसैगरी कार्यक्रममा बोल्दै जिल्ला सहकारी संघ मोरङका सचिव राकेश दाहालले सहकारी भनेकै सहकार्यले चल्ने संस्था भएको बताए ।
पूर्ण रुपमा समुदायमा चलेका सहकारीहरुमा अहिलेसम्म कुनै खालका समस्या नदेखिएको उनले बताए । त्यस्तै जिल्ला बचत तथा ऋण सहकारी संघ मोरङकी उपाध्यक्ष सिता लामिछानेले सहकारीले आफ्ना शेयर सदस्य र भौगोलिक अवस्थाको बारेमा अध्ययन गर्नुपर्नेमा जोड दिईन् ।
शेयर सदस्यलाई खुसी राख्नु नै संस्था माथि जाने एउटा मेरुदण्ड भएको बताउँदै उनले सदस्यको आर्थिक, सामाजिक, सास्कृतिक, राजनैतिक अवस्थाको अध्ययन देखि संस्था र शेयर सदस्य रहेको ठाउँको भौगोलिक अवस्थाको सुक्ष्म अध्ययन गर्न सकियो भने संस्था अघि बढ्ने उनको भनाई छ ।
कार्यक्रममा बोल्दै किसान कल्याण सहकारी संस्था लि.. इटहरीका अध्यक्ष शालिग्राम ढकालले सहकारी संस्था निति र विधिमा सञ्चालन हुनुपर्ने बताए । निति र विधिमा सञ्चालन भएका सहकारीमा सुशासन कायम हुने उनको भनाई छ ।
सहकारी दर्ता गर्दा अनिवार्य बनाउने विनियम बाहेक निति तथा विधि नबनाई सञ्चालकहरुको मनोमानीमा चलेका सहकारीमा सुशासन पनि नहुने र ढिलो चाडो समस्या पनि आउने उनले बताए । व्यक्ति हावी भएर सञ्चालन गरेको सहकारीमा व्यक्तिलाई मा फाईदा हुने बताउँदै उनले सुनसरीमा पनि व्यक्ति केन्द्रित तथा अध्यक्षको आदेशमा सञ्चालन भएका सहकारीमा समस्या देखिएको बताए ।
धरानको बराहा सहकारीको उदाहरण दिदै उनले सदस्यको सबै पैसा व्यक्तिले चलाएका कारण समस्या निम्तिएको बताए । ‘त्यसकारण सहकारी निति र विधिमा सञ्चालन हुनुपर्छ’, उनले भने, ‘सदस्य केन्द्रित र निति र विधिमा सञ्चालन भएका सहकारी संस्थामा कहिले पनि समस्या आउँदैन ।’
सहकारीको कारोबार ५ करोड भन्दा बढी
महालक्ष्मी साकोसले ५ करोड भन्दा बढीको कारोबार गरेको छ । सहकारीले चालु आर्थिक बर्षको पुस मशान्तसम्ममा ५ करोड २८ लाख ४१२ रुपैया ४५ पैसाको कारोबार गरेको छ । सहकारीको शेयर पुँजी ५७ लाख ३ हजार ९ सय रुपैया रहेको छ भने निक्षेप ४ करोड ३ लाख २१ हजार ३९ रुपैया ३१ पैसा रहेको छ । सहकारीले ४ करोड ३ लाख ८० हजार २ सय रुपैया ऋण लगानी गरेको छ ।
सहकारीको जगेडा कोषमा २४ लाख ६० हजार १७६ रुपैया ६८ पैसा रहेको छ भने अन्य कोषमा २९ लाख ६८ हजार २८३ रुपैया ६४ पैसा रहेको छ । सहकारीको नगद मौज्दात ५ लाख ३६ हजार ६१९ रुपैया २९ पैसा रहेको छ भने बैंक मोज्दात ८५ लाख ३९ हजार ७५ रुपैया ०५ पैसा रहेको छ ।
सहकारीको स्थिर सम्पति २२ लाख ६८ हजार ६३५ रुपैया रहेको छ । सहकारीले ३० लाख २७ हजार २६३ रुपैया आम्दानी गरेको छ भने २४ लाख २१ हजार ३३ रुपैया २२ पैसा खर्च गरेको छ । सहकारीमा ६७५ जना शेयर सदस्य रहेका छन् ।
सहकारीको रजत उत्सव कार्यक्रममा सहकारीका प्रमुख सल्लाहाकार लक्ष्मि प्रसाद सापकोटा , संस्थापक पदाधिकारी तथा सदस्यहरु, सहकारीका शेयर सदस्यहरु लगायतको सहभागिता रहेको थियो । रजत उत्सव समापन कार्यक्रममा नृत्यहरु पनि प्रस्तुत गरिएको थियो । नृत्यको संयोजन बुढीगंगामा रहेको स्मृति इङ्गलिस वोर्डिङ स्कूलले गरेको थियो ।
Leave a comment