चीना थापा, विराटनगर । राजसति महिला बहुउदेश्यीय सहकारी संस्था लि. बुढीगंगा १, टंकीसिनवारी मोरङको २२ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । सभामा सहकारीले जेष्ठ सदस्य, आमा / बुबा, सासु आमा / ससुरा बुबा / पति सम्मानित भनेर सम्मान गर्ने गरेको छ । सहकारीले २२ औं साधारण सभामा पनि ३७ जनालाई सम्मान गरेको छ। त्यसैगरी जेष्ठ महिला शेयर सदस्य १३ जनालाई सम्मान गरेको छ भने ९ जना एकल महिला शेयर सदस्यलाई सम्मान गरेको छ।
त्यस्तै सहकारीले संस्थाबाट तालिम लिएर आयआर्जन गर्ने तथा रोजगारी सिर्जना गर्ने शेयर सदस्यलाई प्रोत्साहन स्वरुप सम्मान गरेको छ । सम्मानित हुनेमा अन्जु बस्नेत, भगवती कुमारी तबदार, भद्रीका कटुवाल, शान्ती कुमारी थारु र जानुका थापा रहेका छन् । त्यस्तै सहकारीले शेयर सदस्यका छोराछोरी मध्ये विभिन्न श्रेणीमा उत्तिर्ण गर्ने १० जनालाई शैक्षिक पुरस्कार प्रदान गरेको छ।
सहकारीकी कार्यवाहक अध्यक्ष गीतादवी बिष्टको अध्यक्षता तथा राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष रमेश पोखरेले प्रमुख आतिथ्यतामा भएको साधारणसभा सम्पन्न भएको हो । शुक्रबार सम्पन्न साधारण सभामा कार्यवाहक अध्यक्ष विष्टले सहकारीको बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिईन । विष्टद्धारा प्रस्तुत प्रतिवेदन अनुसार सहकारीले १२ करोड ५९ लाख २४ हजार ४४६ रुपैया ऋण लगानी गरेको छ ।
सहकारीको निक्षेप १० करोड ४७ लाख ३९ हजार ९१८ रुपैया ५० पैसा रहेको छ भने शेयर पुँजी १ करोड ३५ लाख १४ हजार ५ सय रुपैया रहेको छ । सहकारीमा ९४२ जना शेयर सदस्य रहेका छन् । २०५२ सालमा नेपाल ग्रामिण महिला विकास केन्द्र टंकिसिनवारी स्थापना गरी महिलाको क्षेत्रमा काम गर्दै आएको केन्द्रले महिलालाई आर्थिक रुपमा सक्षम बनाउनुपर्छ भन्ने उदेश्यले २०५४ सालदेखि बचत समूह सञ्चालन गर्दै आएको थियो ।
बचत समूह बढ्दै गएको र पैसा पनि बढ्दै जाँदा स्थानीय ठाउँमा बैंक नभएपछि पैसा व्यवस्थापन गर्ने उदेश्यले २०५७ मंसिर ११ गते विधिवत रुपमा सहकारी दर्ता गरी पुस १ गतेदेखि सहकारीले कारोबार सुरु गरेको सहकारीकी सचिव तुलसी विष्टले जानकारी दिईन ।
सुरुमा ४४ जना सदस्यले २२ हजार शेयर रकमबाट सुरु गरेको सहकारीले अहिले करोडौंको कारोबार गर्दै महिलाहरुको आर्थिक स्तर उकासेको विष्टले बताईन । सहकारीले सामाजिक, आर्थिक, राजनैति, साँस्कृतिक क्षेत्रमा काम गरिहरेको उनले बताईन ।
साधारण सभामा लेखा समितिको प्रतिवेदन संयोजक बिनिता घिमिरेले प्रस्तुत गरेकी थिईन । सहकारीको आफ्नै दुई तले भवन रहेको छ । महिलाहरुले मात्र सञ्चालन गरेको सहकारीले महिलाको क्षेत्रमा उत्कृष्ट काम गर्दै आएको छ ।
Leave a comment