सञ्चारकर्मी सहकारीको अध्यक्षमा दाहाल

सञ्चारकर्मी सहकारीको अध्यक्षमा दाहाल :: Sahakari Akhabar

चीना थापा, विराटनगर । सञ्चारकर्मी सञ्चार सहकारी संस्था विराटनगरको ११ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले नयाँ नृतृत्व सर्वसम्मत चयन गरेको छ । अध्यक्षमा पत्रकार दिपक दाहाल सर्वसम्मत चयन भएका छन् । बुधबार भएको सहकारीको ११ औँ साधारण सभाबाट दाहाल अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।

समितिको उपाध्यक्षमा महाप्रसाद खतिवडा, सचिवमा विजयहरि खतिवडा र कोषाध्यक्षमा धकुमारी थापा (चीना) चयन भएका छन् । सदस्यमा बाबुराम भण्डारी, शान्ति दाहाल, मुकेश यादव, राजेश राजवंशी, भोजराज घिमिरे रहेका छन् ।

यसैगरी लेखा समिति संयोजकमा अविनाश कुमार निधि चयन भएका छन् भने सदस्यहरूमा हरि अधिकारी र उत्तम पोखरेल रहेका छन् । ११ वर्ष अगाडी स्थापना भएको सहकारीमा १ सय १६ जना सेयर सदस्य रहेका छन् । सहकारीमा संचारकर्मीहरू मात्र सेयर सदस्य बन्न पाउने व्यवस्था छ।

कार्यक्रममा प्रदेश १ का प्रदेश प्रमुख पर्शुराम खापुङले पत्रकारहरुले समाचारको सत्यतथ्यमा जोड दिनुपर्ने बताए । वार्षिक साधारण सभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रदेश प्रमुख खापुङले गलत समाचारले ठूलो समस्या पैदा गर्ने तथा खण्डन हुँदा पनि अगाडि भइसकेको समस्याको हल नहुने बताउँदै पत्रकारले सहि समाचार मात्र लेख्नुपर्नेमा जोड दिए ।

प्रदेश प्रमुख खापुङले सहकारीले व्यक्ति, समाज र सिंगो राष्ट्रको उन्नतिमा महत्वपूर्ण योगदान दिने हुँदा सञ्चारकर्मीद्वारा सञ्चालित सहकारी उदाहरणीय हुनुपर्ने समेत बताए । यस्तै साधारणसभामा असल ऋणी भोजराज घिमिरे, धनकुमारी थापा, असल वचतकर्ता श्यामसुन्दर सुतिहार र केशव कार्कीलाई सम्मान गरिएको थियो ।

सहकारीका अध्यक्ष मोहन भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ, प्रदेश १ अध्यक्ष लीलाबल्लभ घिमिरेले सञ्चारकर्मीलाई आवश्यक उपकरण किन्न सहुलियतमा ऋणको व्यवस्था गर्न सुझाव दिएका छन् ।

त्यसैगरी साधारणसभामा बोल्दै महासंघ मोरङका अध्यक्ष सञ्जीव खनालले सहकारी विराटनगर केन्द्रीत मात्र नभइ विराटनगर बाहिरका पत्रकारलाई पनि समेट्नुपर्नेमा जोड दिएका थिए । जिल्ला बहुउदेश्यीय सहकारी संघ मोरङका अध्यक्ष तथा पत्रकार मात्रव अधिकारीले पछिल्लो समयमा सहकारीहरु संख्यात्मक रुपमा वृद्धि भएपनि गुणात्मक विकास नभएको बताएका छन् ।

पछिल्लो समयमा  सहकारीमा देखिएका समस्याका कारण सहकारीप्रति नकारात्मक धारणा बढिरहेको बताउँदै अधिकारीले राम्रो गर्ने सहकारीहरु पनि रहेको बताए । उनले सहकारीप्रति देखिएको नकारात्म धारणालाई सहकारी संस्थाले चिर्नुपर्नेमा पनि उनले जोड दिए । यस्तै साधारण सभामा असल ऋणी भोजराज घिमिरे, धनकुमारी थापा (चीना), असल वचतकर्ता श्यामसुन्दर सुतिहार र केशव कार्कीलाई सम्मान गरिएको थियो ।

सहकारीको निक्षेप ३७ लाख

सञ्चारकर्मी सहकारीको निक्षेप ३७ लाख ६ हजार ३९५ रुपैया ४० पैसा रहेको छ । सहकारीका कोषाध्यक्ष विजय खतिवडाद्धारा प्रस्तुत आर्थिक प्रतिवेदन अनुसार सहकारीको शेयर रकम २१ लाख २० हजार रहेको छ भने ऋण लागानी ६५ लाख ४२ हजार २८८ रुपैया ०१ पैसा रहेको छ । सहकारीले ८९ हजार ८५५ रुपैया ९२ पैसा खुद नाफा कमाएको छ । सहकारीको पुँजी तथा दायित्व ९१ लाख २ हजार ३५३ रुपैया ७७ पैसा पुगेको छ ।



Leave a comment