अल्पकालिन र दिर्घकालिन योजना बनाएर तरलता व्यवस्थापन गर्न सुझाव 

अल्पकालिन र दिर्घकालिन योजना बनाएर तरलता व्यवस्थापन गर्न सुझाव  :: Sahakari Akhabar

काठमाडौं । बैंक तथा वित्तीय संस्थासँगै सहकारीहरूमा पनि तरलता अभावको समस्या गहिरिदै गएको छ । तरलता अभावको कारण केहि सहकारी संस्थाहरुले सदस्यलाई बचत फिर्ता समेत गर्न सकेका छैनन् । समग्र वित्तीय प्रणालीमा नै तरलता अभावको संकट गहिरिदै गएकाले सहकारीहरुले अल्पकालिन तथा दिर्घकालिन नीति बनाएर तरलता ब्यवस्थापन गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

जिल्ला सहकारी संघ काठमाडौं, जिल्ला बचत तथा ऋण सहकारी संघ काठमाडौं र जिल्ला बहुउद्देश्यीय सहकारी संघ काठमाडौंले संयुक्त रुपमा आयोजना गरेको  सहकारीको तरलता संकट कारण र समाधानका उपाय विषयक छलफल कार्यक्रममा कार्यपत्र पेश गर्दै राष्ट्रिय सहकारी बैंकका तालिम अधिकृत बल्लभ तिमल्सिनाले तरलता ब्यवस्थापनका लागि अल्पकालिन र दिर्घकालिन योजना बनाउनुपर्ने बताए ।

वित्तीय प्रणालीमा देखिएको तरलता अभावको समस्याले सहकारी संस्थाहरुलाई पनि समस्या पार्दै लगेकाले यसबाट सुरक्षित राख्नका लागि अल्पकालिन रुपमा सदस्यहरुसँगको समन्ध सुधार गर्ने, अत्यावश्यक ऋण मात्र लगानी गर्ने, अनिवार्य रुपमा १० प्रतिशत तरलता व्यवस्थापन गर्ने, स्थिर सम्पतिमा लगानी नगर्ने, साधारणसभालगायतका खर्चहरु कटौती गर्ने, खराब कर्जा असुलीमा जोड दिनेलगायत उपाय उनले सुझाए ।

यस्तै यसैगरी दिर्घकालिन रुपमा सहकारीका ऐन कानुनको पालन, व्यवसायीक योजना निर्माण, संस्थागत सुशासन कायम गर्ने, लेखा परिक्षण, सामाजिक परिक्षण, कानुनी परिक्षण गर्न आवश्यक रहेको उनको जोड थियो । कार्यक्रममा सहभागिहरुले सहकारीको सन्दर्भ ब्याजदर पुनरावलोकन गर्न, कर्जा सूचना केन्द्र, ऋण असुली न्यायाधिकरण स्थापना गर्न जोड दिए ।



Leave a comment