राष्ट्रसेवक सहकारीको साधारण सभामा फरक दृश्य

राष्ट्रसेवक सहकारीको साधारण सभामा फरक दृश्य :: Sahakari Akhabar

हस्ताक्षर गर्ने भत्ता बुझ्ने खानपिन गर्नेबाहेक सहकारीका छलफल तथा गतिविधिमा सामेल हुने सदस्यहरुको आम प्रचलन भएपनि राष्ट्रसेवक सहकारीमा भने अलग रहेको अध्यक्ष जीवन काफ्लेले बताए।

चीना थापा । अधिकांश सहकारीका साधारणसभामा सदस्यको भिडभाड हुदैन । संस्थाले उपलब्ध गराउने यातायात खर्च र खानपिनमा मात्र सदस्यको ध्यान बढि हुन्छ । त्यसैले संस्थाका प्रतिवेदन, योजनाबारे छलफल गर्ने वन्दशत्रसम्म भने कुर्सी खाली भइसकेको हुन्छ ।

तर, विराटनगरको राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थाको २४ औं बार्षिक साधारण सभाको दृश्य भने अलग थियो । सहकारीमा १ हजार ८१० जना शेयर सदस्य रहेकामा करिब १ हजार १ सय सदस्य सहभागि गराउने लक्ष्य राखेपनि  लक्ष्य भन्दा बढी सदस्य सहभागि गराएर साधारणसभा सम्पन्न गरेको छ।

सहकारीको २४ औं बार्षिक साधारण सभा भएपनि सहकारी स्थापना भएको २५ बर्ष पुगेको भन्दै सहकारीले भव्यताका साथ रजत बर्ष भनेर मनाएको थियो ।  कर्मचारी र उनीहरुको परिवार मात्र आवद्ध भएकाले पनि सहकारी आफ्नै हो भन्ने भान सदस्यहरुमा भएको अध्यक्ष जीवन काफ्लेले बताए ।

हस्ताक्षर गर्ने भत्ता बुझ्ने बाहेक सहकारीका गतिविधिमा सामेल हुने आम प्रचलन भएपनि राष्ट्रसेवक सहकारीमा त्यस्तो नरहेको उनले बताए । सहकारीको हरेक गतिविधिमा सदस्यले चासो राख्ने गरेको र मोबाईल एप्समाफर्त सबै जानकारी सदस्यहरुलाई हुने गरेको बताउँदै अध्यक्ष काफ्लेले सदस्यहरुले पनि एप्स मार्फत आफ्नै सबै कुरा हेर्न मिल्ने उनले बताए ।

आफ्नै ब्राण्डको गाउन सहित विद्यार्थीलाई  दिक्षित

राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थाले यो बर्षदेखि प्लस टु पास गर्ने, स्नातक गर्ने र स्नातकोत्तर गर्ने शेयर सदस्य तथा सदस्यका छोराछोरीलाई सम्मान गर्न सुरु गरेको छ । साधारण सभाको अवसरमा प्लस टु पास गर्ने १४ जनालाई जनही २ हजार नगद सहित सम्मान पत्रले सम्मान गरिएको थियो ।

त्यस्तै स्नातक तह पास गर्ने १० जनालाई जनही ५ हजार नगद सहित सम्मानपत्रले सम्मान गरिएको थियो । स्नातक र स्नातकोत्तर गर्ने विद्यार्थीहरुलाई भने सहकारीले आफ्नै सहकारीको ब्राण्डको गाउन सहित दिक्षित गरेको थियो ।

सहकारीले पढ्नको लागि ऋण दिने तथा शिक्षा क्षेत्रमा लगानी गरेको आधारमा सहकारी पनि महाविद्यालय हो भन्ने हेतुले उनीहरुलाई दिक्षित गरिएको सहकारीका अध्यक्ष काफ्लेले बताए । त्यसैगरी सहकारीले स्नातकोत्तर गर्ने ७ जनालाई पनि जनहि ५ हजार र सम्मानपत्र सहित दिक्षित गरेको छ । सहकारीले दिक्षित गर्ने टोपीमा सहकारीका ७ सिद्धान्त समावेश गरेको थियो ।

साधारण सभाको अवसरमा ७५ बर्ष माथिका जेष्ठ सदस्यहरुलाई पनि सम्मान गरिएको थियो ।  उनीहरुलाई जनही २ हजार नगद सहित सम्मान गरिएको हो । यस्तै सहकारीले मंसिर ४ गते सम्पन्न प्रदेश तथा संघिय निर्वाचनमा मोरङ क्षेत्र नं. २ बाट निर्वाचित नेकपा एमालेका सासंद ऋषिकेश पोखरेलाई पनि सम्मान गरेको छ ।

सहकारीको विकासमा योगदान गर्ने चरडाराज ढकाल र सहकारीका पूर्व व्यवस्थापक नर बहादुर कार्कीलाई पनि सम्मान गरेको छ । सहकारीका जेष्ठ सदस्य कृष्ण न्यौपानेलाई नगद ५ हजार सहित सम्मानपत्रले सम्मान गरेको छ ।

राष्ट्रसेवक साकोसको ‘प्रयास स्मारिका’  विमोचन

साधारण सभाको अवसरमा सहकारीले ‘राष्ट्रसेवक प्रयास स्मारिका’ को विमोचन गरेको छ । सहकारी स्थापना देखि बर्तमान अवस्थासम्मको गतिविधिलाई समेटेर स्मारिक प्रकाशित गरिएको सहकारीले जनाएको छ ।साधारण सभाको अवसरमा बोल्दै नेपा निजामति कर्मचारी संगठनका केन्द्रिय अध्यक्ष लेखनाथ कोईरालाले मोरङको राष्ट्रसेवक सहकारी सबैको लागि अनुकरणिय रहेको बताए ।

सहकारीको सुरुवात नै मोरङबाट भएका कारण देशभरकै उत्कृष्ट सहकारीको रुपमा अगाडि बढ्न उनले शुभकाना दिए । सहकारी सबैको साझा भएका कारण सहकारीको हरेक गतिविधिमा सदस्यले निगरानी राख्नुपर्नेमा उनले जोड दिए ।

त्यस्तै राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष रमेश पोखरेलले अहिले सहकारी क्षेत्र उत्पादनसग जोडिने भन्दा पनि नगद नाफा कसरी कमाउन सकिन्छ भन्ने तर्फ सहकारीहरु अग्रसर भएको बताए । सहकारीहरुका पछिल्ला गतिविधिले सहकारी अभियानलाई असर गरिरहेको उनको भनाई छ । सहकारीहरुले आफ्ना कार्यक्रमहरुमा विविधिकरण गर्नुपर्नेमा त्यो हुन नसकिरहेको उनले बताए ।

सहकारीका अध्यक्ष जीवन काफ्लेको अध्यक्षता तथा नेपाल निजामती कर्मचारी संगठनका केन्द्रिय अध्यक्ष लेखनाथ कोईरालाको प्रमुख आतिथ्यतामा भएको साधारण सभामा अध्यक्ष काफ्लेले सहकारीको बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कर्मचारी क्षेत्रमा  सहकारीको अवधारणा र सुरुवाती नै मोरङ जिल्लाबाट भएका कारण मोरङको सहकारीले केही नयाँ नयाँ किसिमका गतिविधि गर्दै आएको र पछिल्लो दिनमा नी गर्दै जाने उनले बताए । अहिले ६८ जिल्लामा राष्ट्रसेवक सहकारी कुनै न कुनै रुपमा सञ्चालनमा रहेको काफ्लेले जानकारी दिए ।

सहकारीले महिला शेयर सदस्यलाई सुत्केरी शिशु पोषण खर्च वापत ५ हजार वितरण गर्दै आएको जनाएको छ । त्यसैगरी ज्येष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत ७५ बर्ष नाघेका सदस्यलाई सम्मान स्वरुप उपचार खर्च वापत जनही २ हजार उपलब्ध गराउने गरेको सहकारीले जनाएको छ । सहकारीले विभन्न अक्षयकोष सञ्चालन गरेर संस्थामा योगदान पुर्याउने विभिन्न व्यक्तिहरुलाई सम्मान गर्दै आएको छ ।



Leave a comment