तरकारी तथा फलफूल बजार संचालन गर्न छलफल सुरु

तरकारी तथा फलफूल बजार संचालन गर्न छलफल सुरु :: Sahakari Akhabar

काभ्रे । जिल्ला सहकारी संघ काभ्रेले निर्माण गरेको नयाँ सुविधा सम्पन्न भवनमा जिल्लास्तरीय तरकारी तथा फलफूल बजार सञ्चालन गर्न छलफल थालेको छ ।  संघले जिल्ला तरकारी तथा फलफूल बजार अबको दुई महिनामा नै सञ्चालन गर्ने लक्ष्य लिँदै छलफल थालेको हो । जिल्ला भित्र सञ्चालनमा रहेका बहुउद्देश्यीय, कृषि, तरकारी, फलफूल सहकारी संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको भेला गराई संघले यसबारेमा अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गरेको हो ।

कार्यक्रममा अध्यक्ष दिलिप शर्माले औचित्य तथा उद्देश्य माथि प्रकाश पार्दै जिल्ला सहकारी संघले जिल्ला तरकारी बजार सञ्चालनका लागि थालेको प्रयास र योजनाहरुका बारेमा जानकारी गराउँदै जिल्लामा उपलब्ध भएका सबै प्रकृतिका सहकारी संस्थाहरु र जिल्ला सहकारी संघसँगै मिलेर काम गर्न के कसरी सकिन्छ भन्ने सुझाव माग गरेका थिए ।

बनेपामा आयोजित उक्त कार्यक्रममा निवर्तमान अध्यक्ष विनोद पराजुली, कृषि संघका अध्यक्ष सुमन नेपाल, बहुउद्देश्यीय संघका उपाध्यक्ष कृण्णभक्त थापा, बजार बिज्ञ तिलसी प्रसाद गौतम, पुष्पराज जोशीको उपस्थित थियो । कार्यक्रममा सहभागीहरुले किसानका समस्याहरुका बारेमा समेत जानकारी गराएका थिए ।

पहिलो चरणमा भएको यस्तो खालका कार्यक्रम जिल्लामा नै पहिलो, नौलो र उत्पादन र बजारीकरणसँग सम्वन्धित भएको कार्यक्रममा उपस्थित सहभागिहरुले धारणा व्यक्त गर्दै तरकारी बजार सञ्चालनका लागि सहकारी संस्थाहरुले आवश्यक सहयोग गर्ने प्रतिबद्धता गरे ।

विभिन्न सहकारी संस्थाका ४२ जना सहभागी रहेको उक्त कार्यक्रममा उत्पादन, बजार र बजारिकरण र सहकारी क्षेत्रले गर्नुपर्ने बिषय जिल्लामा आवश्यक कुशल व्यवस्थापन, सम्पर्क समन्वय गर्दै गुणस्तरीय तरकारी उत्पादन, प्याकेजिंग र ग्रेडिङ्ग सहित सरल मूल्यमा आम उपभोक्तहरु माझ पुर्याउने कार्यमा सबै सहकारी लाग्नुपर्ने र सहयोग गर्नुपर्ने धारणा संघका अध्यक्ष शर्माको थियो । 
 



Leave a comment