हाइलाइट

सहकारी सञ्चालक तथा कर्मचारीहरुलाई समय व्यवस्थापन तालिम

सहकारी सञ्चालक तथा कर्मचारीहरुलाई समय व्यवस्थापन तालिम :: Sahakari Akhabar

विराटनगर । जिल्ला सहकारी संघ मोरङको आयोजनामा एकदिने समय व्यवस्थापन र सहकारी विषयक एक दिने तालिम सम्पन्न भएको छ । सहकारी सञ्चालन गर्ने क्रममा समय व्यवस्थापन कसरी गर्ने र सहकारीको निति नियम अनुसार समयमा नै कसरी सहकारीका गतिविधि सञ्चालन गर्ने भन्ने विषयमा तालिम दिईएको जिल्ला सहकारी संघका सचिव राकेश दाहालले जानकारी दिए ।

संघले शुक्रबार विराटनगरका २५ जना सहकारीका सञ्चालक तथा कर्मचारीको सहभागितामा एक दिवसीय तालिम सम्पन्न गरेको हो । सोही तालिम संघले यही पुस १४ गते सहकारीका सञ्चालकहरुलाई मात्र राखेर दिने दाहालले जानकारी दिए । समयको व्यवस्थापन गरेर सहकारीका गतिविधिलाई अगाडि लैजान सजिलो होस् भन्ने उदेश्यले तालिमको आयोजना गरिएको उनको भनाई छ ।

तालिमको सहजीकरण मोटिभेस्नल स्पिकर राजेश दाहालले गरेका थिए । शुक्रबार विराटनगरमा भएको तालिममा सहभागि संगिता आचार्य र गोविन्द पाण्डेले आफूहरुलाई कार्य योजना बनाएर काम गर्न सजिलो भएको बताए । सहकारीहरुमा यति बर्षे उति बर्षे भनेर कार्ययोजनाहरु नबनाई काम गरिरहेको अवस्थामा अब तालिम पश्चात ४ बर्षे कार्ययोजना बनाएर नै अघि बढ्ने उनीहरुले प्रतिवद्धता जनाएका छन् ।

समयको व्यवस्थापन गर्ने परम्परा नभएको र आज नभए भोली गर्दा नी हुन्छ भन्ने बानीले सहकारी संस्थाहरुमा सोचेजस्तो काम हुन नसकेको बताउँदै सहभागिले समयको व्यवस्थापन नै महत्वपूर्ण कुरा रहेछ भन्ने कुरा बुझेको स्पष्ट पारे ।

तालिमको समापन कार्यक्रममा बोल्दै संघका बरिष्ठ उपाध्यक्ष विजय कुमार माझीले संघले सहकारीहरुको क्षमता अभिवृद्धिको लागि यस्ता तालिमहरुको आयोजना गर्ने गरेको बताए । तालिमबाट धेरै कुराहरु सिकेर संस्थामा लागु गर्न सकिने र आफ्नो संस्थालाई राम्रो  बनाउन सकिने भएकाले यस्ता किसिमका लागिहरु आवश्यक पर्ने उनको भनाई छ । आगामि दिनहरुमा पनि संघले आवश्यकताका आधारमा तालिमहरुको आयोजना गर्ने उनले बताए ।

त्यसैगरी जिल्ला सहकारी संघ मोरङका शिक्षा तथा तालिम उपसमिति संयोजक कमलेश्वर ठाकुरले वर्तमान समयमा यस्ता किसिमका तालिम सहकारीमा अन्यन्तै आवश्यक रहेको बताए । समयमा नै लगानी र समयमा नै असुली भन्ने मूल मन्त्रलाई मनन् गरेमा सहकारीहरु समस्यामा नजाने ठाकुरले बताए ।



Leave a comment