सहारा साकोसको नाफा ४९ करोड, सदस्यलाई सवा ३० करोड बाड्दै 

सहारा साकोसको नाफा ४९ करोड, सदस्यलाई सवा ३० करोड बाड्दै  :: Sahakari Akhabar

काठमाडौं । झापास्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले गत आर्थिक वर्ष २०७८ / ०७९ का ४९ करोड रुपैयाँ खुद नाफा गरेको छ ।  गत आवसम्ममा ९ अर्व ८५ करोड बचत संकलन गरी संस्थाले १३ अर्व कर्जा लगानी गरेको छ । १ लाख ५९ हजार सेयर सदस्य रहेका संस्थाको शेयर पुँजी १ अर्व ६३ करोड, जगेडा कोषमा एक अर्व १३ करोड रुपैयाँ रहेको छ ।

गत आर्थिक वर्षसम्मको नाफाबाट संस्थाले सदस्यहरुलाई सेयर लाभांश वापत २० करोड ८३ लाख ६३ हजार ९४३ रुपैयाँ, संरक्षित पुँजी कोष वापत  ९ करोड ३२ लाख २७ हजार ७१५ रुपैयाँ गरी कुल ३० करोड १५ लाख ९१ हजार ६५८ रुपैयाँ वितरणको प्रस्ताव गरेको छ ।

लघुवित्त सेवामार्फत गरिव तथा विपन्न वर्गसम्म वित्तीय सेवा प्रदान गर्दै आएको संस्थाले सदस्यहरुलाई विभिन्न सामाजिक सेवा तथा कार्यक्षेत्रभित्र सामाजिक कामहरु समेत गरिरहेको प्रमुख कार्यकारी अधिकृत महेन्द्र गिरीले जानकारी दिए ।

संस्थाले सदस्यहरुका लागि  सामाजिक सुरक्षा भत्ता, स्वास्थ्य सेवा, विभिन्न राहत कार्यक्रम संचालन गर्दै आएको छ । गत आवमा संस्थाले सामाजिक सुरक्षा अन्तर गत जेष्ठ सदस्य, एकल महिला पुरुष, मृत्यु राहत कोभिड सहायताका लागि ८ हजार ४३० जनाको ऋण मिनाह ४ हजार ११५ र स्वास्थ्य उपचार सेवा ३ हजार २७६ जना गरी १५ हजार ८२१ जनालाई १६ करोड ४४ लाख ७१ हजार ४३० रुपैयाँ सहयोग गरेको जनाएको छ ।

रणनीतिक योजना बनाएर अघि बढेको संस्थाले आगामी १० वर्षमा संस्थाको कारोबार एक खर्ब पुर्याउने लक्ष्य राखेको छ । यस्तै ५ लाख सदस्य निर्माण, एक सय वटा सहकारी संस्थासँग मर्जर, २० वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नेटवर्कमा आवद्धता जस्ता योजना अघि सारेको छ । यस्तै सदस्यको उत्पादनलाई बजारीकरणमा सहयोग, उद्यमशिलता विकासमा सहयोग गर्ने, शिक्षा र स्वास्थ्य क्षेत्रमा योगदान बढाउने लक्ष्य राखेको छ । 



Leave a comment