सहकारीको अध्यक्षमा पुन :राई सर्वसहमत निर्वाचित
चीना थापा, विराटनगर । विराटनगरमा रहेको इष्टर्न स्टार कृषि सहकारी संस्था लिमिटेडले निरन्तर चलिरहेको कृषि परियोजना तथा शेयर लगानीमा २२ करोड १६ लाख ९७ हजार ६१० रुपैया १९ पैसा लगानी गरेको छ।
सहकारीकी अध्यक्ष यशोदा राईले सहकारीको शुक्रबार सम्पन्न १० औं बार्षिक साधारण सभामा प्रस्तुत बार्षिक प्रगति प्रतिवेदन अनुसार सहकारीले नर्सरी, हाँस पालन, माछा पालन, बाँस खेती, सानो अगरउड, ठूलो अगरउड, अशोक बिरुवा, महगनी बिरुवा, घाँसको बीउ, टिकुमा प्लान्ट, टक्कर बिरुवा, निलजै लगानी, मुसून्डा, क्रोटन, हंसराज, जामून, क्रस मगहनी, मसला, सूपारी, टिक प्लान्ट, मलेसियन साल, सिपी, बिउ बिजन, भैंसी पालन, जी ९ केरा खेति , ड्रागन खेती र अन्य कृषि लगानीमा गरि उक्त रकम लगानी गरिएको हो ।
सहकारीको शेयर पुँजी ४३ करोड ८७ लाख ९४ हजार २ सय रुपैया रहेको छ भने सहकारीको निक्षेप २ करोड ३९ लाख २४ हजार ६९० रुपैया ९४ पैसा रहेको छ । सहकारीले राष्ट्रिय सहकारी बैंकमा २७ लाख ३० हजार ५ सय रुपैया, प्रदेश सहकारी संघमा २५ हजार रुपैया, जिल्ला सहकारी संघमा ५ हजार रुपैया र विराट विशिष्टीकृत सहकारी संघमा ४ लाख रुपैया गरी जम्मा ३२ लाख १० हजार ५ सय रुपैया शेयर लगानी गरेको छ ।
सहकारीले हालसम्म १३८ वटा कृषि हित लघु समूह निर्माण गरेको बार्षिक प्रगति प्रतिवेदनमा उल्लेख छ । सहकारीमा १९७० जना शेयर सदस्य रहेका छन् । जसमा पुरुष ८२० जना छन् भने महिला १०१२ जना रहेका छन् ।
सहकारीको स्थिर सम्पत्ती ३३ करोड २५ लाख ८ हजार ३३५ रुपैया ७५ पैसा रहेको छ । जस अन्तर्गत जग्गा विस्तार माछा पोखरी निर्माण, भवन निर्माण, गोठ निर्माण, अजोला पिट निर्माण, युरिन ट्याङ्क निर्माण र कम्पाउण्ड वाल निर्माण रहेको छ । सहकारीले ५५ लाख ८० हजार ९०९ रुपेया १७ पैसा खुद नाफा कमाएको छ ।
त्यसैगरी कार्यक्रममा पूर्व डिआईजी छविलाल जोशीले शेयर सदस्यले आफ्नो पैसा सुरक्षित छ की छैन् भन्ने विषयमा चासो राख्नुपर्नेमा जोड दिए । सञ्चालक समितिको बैठक बसेको छ छैन, समितिका पदाधिकारीहरु कसरी चलिरहेका छन्, संस्थाको अवस्था सबै कुरामा सदस्यले निगरानी राख्नुपर्ने उनले बताए ।
सहकारीले नमुनाको रुपमा स्थापना गरेको मोरङको रंगेली नगरपालिका २ बबियाविर्ता स्थित प्रोजेक्ट साइटलाई अझ बढी उत्कृष्ट र आधुनिकिकरण गर्न थप योजनाहरु सञ्चालन गरिरहेको अध्यक्ष राईले जानकारी दिईन । करिब ५ सय भैंसी राख्न मिल्ने ६ वटा फलामको ट्रस सहितका आधुनिक भैंसी गोठ निर्माण कार्य निरन्तर जारी रहेको र आगामी आ.व भित्र सम्पन्न गर्ने योजना रहेको उनले बताईन ।
सहकारीकी अध्यक्ष यशोदा राईको अध्यक्षता तथा प्रदेश तथा जिल्ला सहकारी संघका अध्यक्ष डिल्ली पोखरेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि पोखरेलले सहकारीले कृषि क्षेत्रमा लगानी गरेर आयात प्रतिस्थापनमा योगदान गर्नुपर्नेमा जोड दिए ।
प्रायजसो सहकारी बचत तथा ऋणमा नै केन्द्रित भएकाले पैसा किन्ने र बेच्ने काम मात्र भएको उनको भनाई थियो । छिमेकी देश भारत र अन्य देशमा पनि सहकारीहरुको उत्पादनले देश आफ्नो आवश्यकता पुर्ती गरेर अन्य देशमा पनि निर्यात गरिरहेको अवस्थामा नेपालमा पनि सहकारीहरुले उत्पादनका क्षेत्रमा लगानी गर्नुपर्ने बताए ।
काठमाडौं केन्द्रित र अन्य ठूला भनिएका सहकारीमा आएको समस्याको बारेमा बोल्दै पोखरेलले कस्ता सहकारी समस्यामा परेका छन् भन्ने विषयमा सहकारीका सदस्यले ध्यान दिनुपर्ने बताए । आफ्नो पैसा सुरक्षित छ छैन भन्ने विषयमा र बजारको अवस्था के छ र सहकारीले कसरी आफुहरुलाई प्रलोभनमा पारिरहेको छ भन्ने कुरामा पनि ख्याल गर्नुपर्ने उनको भनाई छ ।
सहकारीको अध्यक्षमा पुन : राई
इष्टर्न स्टार कृषि सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुन ः यशोदा राई सर्वसहमत निर्वाचित भएकी छिन् । त्यसैगरी उपाध्यक्षमा आयुषा दर्शनधारी, सचिबमा सीमा कुमारी कार्की, कोषाध्यक्षमा बिन्दु श्रेष्ठ पनि सर्वसहमत निर्वाचित भएका छन् ।
सदस्यमा शारदा कपाली, संगीता श्रेष्ठ र अनिता सुन्चेरी सर्वसहमत निर्वाचित भएका छन् । लेखा सुपरिवेक्षण समिति सयोजकमा सुबर्ण महर्जन सर्वसहमत निर्वाचित भएका छन् भने सदस्यहरुमा पुजन तुलाधर र दीपक नेपाली सर्वसहमत निर्वाचित भएका छन् ।
Leave a comment