चीना थापा, विराटनर । जिल्ला बचत तथा ऋण सहकारी संघ मोरङको चुनावी साधारण सभा पुस २ गते वेलवारीमा हुने भएको छ । संघको २९ औं साधारणसभाले नयाँ नेतृत्व चयन गर्नेछ । संघका व्यवस्थापक केदार दुलालका अनुसार संघले निर्वाचन तालिका पनि प्रकाशित गरिसकेको छ ।
संघले प्रकाशित गरेको निर्वाचन तालिकामा मंसिर २५ गते विहान ११ बजे मतदाता नामावली प्रकाशित गर्ने, ११ः३० देखि ४ बजेसम्म मतदाता नामावली उपर दाविविरोध तथा सच्याउने र ४ः३० बजे अन्तिम मतदाता नामावली प्रकशन गर्ने कार्यतालिका रहेको छ ।
त्यसैगरी मंसिर २७ गते विहान ११ बजेदेखि ४ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको छ । उम्मेदवारको पहिलो नामावली प्रकाशन सोही दिन ४ः१५ बजे गर्ने कार्यतालिका रहेको व्यवस्थापक दुलालले जानकारी दिए ।
मंसिर २८ गते विहान ११ बजेदेखि १ बजेसम्म उम्मेदवारी उपर दाविविरोध गर्न सकिने छ भने दावी विरोध उपर छानविन गरी उम्मेदवारको नामावली प्रकाशन भने सोही दिन ३ :३० बजे गरिने कार्यतालिका रहेको छ । उम्मेदवारी मनोनयन फिर्ता लिने समय मंसिर २९ गते विहान १० बजेदेखि पुस १ गते विहान ११ बजेसम्म तोकिएको छ । पुस १ गते १२ बजे अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका संघले प्रकाशित गरेको छ ।
संघको चुनावी साधारण सभाबाट अध्यक्ष १, बरिष्ठ उपाध्यक्ष १, महिला उपाध्यक्ष १, सचिव १, सहसचिव १, कोषाध्यक्ष १, महिला सदस्य ५ र खुल्ला सदस्य ६ जना गरि १७ पदका लागि निर्वाचन हुनेछ । त्यसैगरी लेखा तथा सुपरिवेक्षण समिति संयोजक १ र सदस्य २ जना रहनेछन् ।
संघको अध्यक्ष पदका लागि मनोनयन दस्तुर २ हजार निर्धारण गरिएको छ भने लेखा संयोजक र सञ्चालक पदाधिकारीहरुका लागि १५ सय मनोनयन शुल्क निर्धारण गरिएको दुलालले जानकारी दिए । सञ्चालक सदस्य र लेखा सदस्यका लागि मनोनयन शुल्क एक हजार तोकिएको छ ।
मोरङमा करिब ६ सयको हाराहारीमा बचत तथा ऋण सहकारी संस्था रहेका छन् । संघमा २ सय ७० वटा बचत तथा ऋण सहकारी संस्था आवद्ध रहेका छन् । ३ सय वटा बचत तथा ऋण आवद्ध भएको भएपनि एकिकरण भएर संख्या घटेको संघका व्यवस्थापक दुलाले बताए ।
सहकारी ऐनमा छाता संघमा आवद्ध हुनुपर्ने उल्लेख भएपनि विषयगत संघमा आवद्ध हुनुपर्छ भन्ने नभएका कारण पनि धेरै सहकारी विषयगत संघमा आवद्ध हुन आलटाल गर्ने गरेको उनको भनाई छ । ‘छाता संघको रुपमा जिल्ला सहकारी संघ छ’, उनले भने, ‘विषयगत संघ भए, फेरि केन्द्रिय संघहरु पनि छन्, त्यसले गर्दा पनि कतिमा आवद्ध हुनु भन्ने सहकारीहरुलाई परेको छ ।’ विषयगत संघमा आवद्ध गराउन पहल गरिरहेको उनले बताए ।
Leave a comment