लाभान्वित साकोसको नाफा ६० लाख भन्दा बढी

लाभान्वित साकोसको नाफा ६० लाख भन्दा बढी :: Sahakari Akhabar

चीना थापा, विराटनगर । विराटनगर महानगरपालिका १५ बैंक रोडमा रहेको लाभान्वित बचत तथा ऋण सहकारी संस्था लिं.ले ६० लाख २७ हजार ३८५ रुपैया ७२ पैसा खुद नाफा गरेको छ । सहकारीको शनिवार सम्पन्न १२ औं बार्षिक साधारण सभामा सो कुराको जानकारी दिईएको हो ।

सहकारीका अध्यक्ष प्रमोद कुमार साहद्धारा प्रस्तुत बार्षिक प्रतिवेदन अनुसार सहकारीको निक्षेप १२ करोड ८० लाख ४० हजार ८३ रुपैया रहेको छ भने सहकारीको शेयर पुँजी १ करोड ११ लाख २८ हजार ३ सय रुपैया रहेको छ ।

सहकारीले १५ करोड ८६ लाख ऋण लगानी गरेको प्रतिवेदनमा उल्लेख छ । सहकारीमा २४५४ जना शेयर सदस्य रहेका छन् । जसमा ११४१ जना महिला शेयर सदस्य छन् भने १३१३  जना पुरुष सदस्य रहेका छन् ।

सहकारीको १६ लाख २० हजार वाह्य ऋण रहेको अध्यक्षद्धारा  प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । सहकारीको कोष हिसाव २ करोड १३ लाख १३ हजार २ सय रुपैया रहेको छ । सहकारीको स्थिर सम्पति ४७ लाख ४ हजार ६२१ रुपैया बराबरको  उल्लेख गरिएको छ ।

सहकारीले आपतकालिन राहतकोष अन्तर्गत प्राकृतिक प्रकोपको कारणले बस्ने घरमा क्षति भएमा, औषधी उपचार खर्च, सुत्केरी भत्ता समेत शेयर सदस्यलाई उपलब्ध गराउने गरेको अध्यक्ष साहले बताए । बार्षिक  साधारण सभाको अवसरमा सहकारीले उत्कृष्ट बचतकर्ता १० जना र उत्कृष्ट ऋणी १० जनालाई सम्मान गरेको छ ।

उत्कृष्ट ३ जना कर्मचारी तथा बजार प्रतिनिधिलाई पनि सम्मान गरेको छ । साधारण सभामा २०७९  साल असोज मसान्त सम्म ६८ बर्ष उमेर पुरा गरेका २९ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ। सहकारीका अध्यक्ष प्रमोद कुमार साहको अध्यक्षता तथा राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष रमेश प्रसाद पोखरेलेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सहकारीका उपाध्यक्ष राजकुमार मण्डलले बार्षिक निति प्रस्तुत गरेका थिए ।

प्रस्तुत बार्षिक नितिमा सहकारीको शेयर सदस्य बढाउने, शेयर पुँजी बढाउने, बचत सेवाहरु बृद्धि गरि बचत रकम बढाउने, सहकारीको आफ्नै भवन निर्माण गर्ने, सेवा केन्द्रहरु विस्तार गर्ने लगायत रहेका छन् । यस्तै कार्यक्रममा कोषाध्यक्ष संतोष कुमा शाहले आर्थिक प्रतिवेदन प्रतिवेदन प्रस्तुत गर्नुका साथै आगामि दिनमा अपनाईने रणनितिको बारेमा जानकारी गराएका थिए । सहकारीका ऋण उप समिति संयोजक गोविन्द कुमार शाहले भावि ऋण नितिको बारेमा जानकारी गराएका थिए ।

सन्दर्भ व्याजदरले सहकारीलाई अप्ठ्यारो पार्यो : पोखरेल

राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष रमेश प्रसाद पोखरेलले सन्दर्भ व्याजदरका कारण सहकारीहरु अप्ठ्यारोमा परेको बताएका छन् । लाभान्वित बचत तथा ऋण सहकारी संस्थाको १२ औं बार्षिक साधारण सभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै पोखरेलले बैकले निक्षेपमा नै १५ प्रतिशत व्याज दिन थालेपछि सहकारीको पैसा बैंक तिर जान थालेकाले पछिल्लो समय सहकारीमा तरलता समस्या देखिएको बताए ।

सहकारी अभियान्ताहरुले कम्तिमा १९ प्रतिशत बनाउन पर्छ भनिरहेको उनले बताए । ४ अंकको फरकमा राख्नुपर्नेमा महासंघले पनि जोड दिईरहेको उनको भनाई छ । ‘सरकारले १८ प्रतिशतमा निर्णय गर्न लागिरहेको भन्ने सुन्न आएको छ’, उनले भने यदि यस्तो हो भने सरकारको निर्णय हामीले मानिरहनुपर्छ भन्ने छैन भन्ने कुरा महासंघको तर्फबाट हामीले बोलिरहेका छौं ।’

‘पहिलो कुरा संस्था जोगाउने हो, टिकाउने हो, संस्था जोगिसकेपछि मात्र अरु कुरा गर्ने हो, सहकारीहरुसँग बैंकले अस्वस्थ प्रतिस्पर्धा गरिरहेका छन्,व्याजमा अस्वस्थ प्रतिस्पर्धा छ, हामीले सन्दर्भ व्याजदरले रोकिरहेको छ, यसको समाधान हामी छिट्टै गर्ने छौं’, उनले भने ।

पछिल्लो समयमा देखिएका र समाचारको रुपमा बाहिर आएका कुराहरु सहकारीमा विकृति  बढ्यो भन्ने कुराले चिन्तित बनाएको उनले बताए । ‘पैसा लिएर भागे, बचत फिर्ता दिएनन् जस्ता कुराहरु आएका छन्, जुन सहकारीमा समस्या देखिएका छन्, ती सबै समुदायमा आधारित सहकारी थिएनन्’, उनले भने, ‘पूर्ण रुपमा समुदायमा आधारित भएर सञ्चालन भएका सहकारीमा केही समस्या देखिएको छैन् ।’

कस्तो सहकारीमा बचत गर्दै छौं भन्ने कुरा सदस्यले पनि ख्याल गर्नुपर्ने उनको भनाई छ । ‘हामीले थोरै व्याजको लोभमा नबुझीकन बचत गर्यो भने फस्न सक्छौं, त्यसैले बुझेर मात्र बचत गर्नुपर्छ’, उनले भने ।



Leave a comment