ललितपुर । सहयोगी बहुउद्देश्यीय सहकारी संस्थाको २६औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाले गत शनिबार संस्थाकी कार्यवाहक अध्यक्ष कल्पना श्रेष्ठको अध्यक्षता तथा राष्ट्रिय सहकारी महासंघका सञ्चालक राजेन्द्र पौड्यालको प्रमुख आतिथ्यतामा सभा सम्पन्न गरेको हो ।
सभामा २३ जना ज्येष्ठ सदस्यलाई दोसल्ला तथा नगदद्वारा सम्मान गरिएको थियो भने, एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने सदस्यका छोराछोरीमध्ये अभि आचार्यलाई १० हजार नगद पुरस्कार प्रदान गरिएको थियो । त्यसैगरी सोही अवसरमा संस्थाकै व्यवस्थापनमा सञ्चालनमा रहेको वेष्टर्न विंग सेकेण्डरी स्कुलबाट एसईई दिएका विद्यार्थीहरुलाई पनि सम्मान गरिएको थियो ।
सभामा कार्यवाह अध्यक्ष श्रेष्ठले आफ्नो कार्यकालमा नीति, विधि र पद्धतिमा बसेर संस्थालाई जोगाउँदै सदस्यहरुको हितको लागि काम गर्ने बताइन । सभामा संस्थाका सचिव ई.आशिष श्रेष्ठले वार्षिक कार्यक्रम तथा प्रतिवेदन प्रस्तुत गरेका थिए ।
उनले २६औं साधारणसभा सम्म आइपुग्दा संस्थामा ३ हजार ५ सय ५१ सदस्य पुगेको जानकारी दिए । आर्थिक वर्ष २०७८।७९ को अन्त्यसम्म संस्थामा शेयरपुँजी ९ करोड ३१ लाख ६३ हजार, बचत संकलन ६८ करोड ३१ लाख ४९ हजार, कर्जा लगानी ७३ करोड २९ लाख ८ हजार पुगेको जानकारी दिए । संस्थाले गत आर्थिक वर्षमा १३ जना मृतक सदस्यका परिवारलाई १ लाख ३० हजार आर्थिक सहयोग प्रदान गरेको उनले जनाए ।
त्यसैगरी साँस्कृतिक उत्थानका लागि विभिन्न बाजा खलः लाई सहयोग गर्दै आएको र सदस्यहरुलाई नेपाल हृदयरोग निवारण प्रतिष्ठानसँगको सहकार्यमा निःशुल्क मुटु रोग परिक्षण एवं नेपाल रेडक्रस सोसाइटी लुभुसँगको सहकार्यमा आँखा शिविर जस्ता कार्यक्रम गरिएको जानकारी दिए । सदस्यहरुलाई कारोबारका बारेमा सहज जानकारी दिने उद्देश्यले छिट्टै मोबाइल बैंकिङ सेवा सञ्चालनमा ल्याउने जनाएको छ ।
Leave a comment