ललितपुर । कुम्भेश्वर महिला बचत तथा ऋण सहकारी संस्थाको १२औं साधारणसभा सम्पन्न भएको छ । संस्थाकी अध्यक्ष बिन्जु खड्गीको अध्यक्षता एवं ललितपुर महानगरपालिकाकी उपमेयर मञ्जली शाक्यको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो ।
सभामा जिल्ला सहकारी संघ ललितपुरका अध्यक्ष केदार गोर्खाली, ललितपुर बचत संघका बरिष्ठ उपाध्यक्ष करूणारत्न बज्रचार्य र राष्ट्रिय सहकारी बैंक, लगनखेल शाखाप्रमुख रमा घिमिरे रहेका थिए । त्यसैगरी ललितपुर मनपा, वडा नं. १९ का अध्यक्ष राजेन्द्र महर्जन, माँ बंगलामुखी उपभोक्ता सहकारीका अध्यक्ष लक्ष्मण महर्जन, सेटलमेन्ट साकोसका अध्यक्ष प्रनव श्रेष्ठ र तःननि साकोसका अध्यक्ष अष्टलाल महर्जनको सहभागिता रहेको थियो ।
सभामा संस्थाकी अध्यक्ष खड्गीले २०६७ सालमा स्थापना भएको सहकारीमा हालसम्म आइपुग्दा ७८० जना शेयरसदस्य पुगेको बताइन् । संस्थामा आवद्ध सदस्यहरूमा नियमित बचतको बानी बसाली सदस्यकै माग अनुसार आयमूलक क्षेत्रमा लगानी गर्दै आएको उनले बताइन् ।
साथै संस्थाले सदस्यहरूमा सीपविकास तालिम, युवा स्वरोजगार लघुवित्त एवं युवा स्वरोजगार ऋण परिचालन, अनौपचारिक शिक्षा र विभिन्न प्रकारका अन्य तालिम दिएर सदस्यहरूलाइ लाभान्वित बनाउँदै आएको उनले सभामा जानकारी दिइन् ।
संस्थाकी सचिव सफलता खड्गीले आ.व २०७८।०७९ को आर्थिक प्रतिवेदन तथा चालु आ। व। को योजना तथा कार्यक्रमहरू सभामा प्रस्तुत गरेकी थिइन् । यस आ।व।मा सदस्यहरू आवश्यकतामा आधारित भएर तालिम दिने, वित्तीय साक्षरता तथा सहकारी सम्बन्धी अभिमुखीकरण तालिम सञ्चालन गर्ने, ज्येष्ठ नागरिकहरूलाइ भ्रमण र बालबालिकाहरूलाइ लक्षित गरी कार्यक्रम गर्ने उनले बताइन् ।
कोषाध्यक्ष शान्तलक्ष्मी खड्गीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै गत असार मसान्तसम्म संस्थाको शेयरपुँजी १ करोड ८ लाख, जगेडा तथा अन्य कोष १८ लाख ७० हजार, बचत संकलन १४ करोड २१ लाख र ऋण लगानी १९ करोड १८ लाख पुगेको जानकारी दिइन् ।
सभामा लेखा सुवरीवेक्षण समितिको तर्फबाट प्रतिवेदन पेश गर्दै संयोजक गायत्री शाहीले सम्पत्तिको अनुपातमा शेयरपुँजी वृद्धि गर्नुपर्ने र निष्क्रिय सदस्यलाइ सक्रिय बनाउनुपर्ने तथा ससानो रकमलाइ लामो समय बचतको रूपमा संकलन गर्नुपर्ने जस्ता सुझाव दिएकी थिइन् । सभामा उत्कृष्ट बचतकर्ता शर्मिला शाही एवं उत्कृष्ट ऋणीहरूमा शर्मिला खड्गी र सुनिता राजथलीलाइ सम्मान गरिएको थियो
Leave a comment