हाइलाइट

अभिवादन सहकारी संस्थाको छैठौं वार्षिक साधारणसभा सम्पन्न

अभिवादन सहकारी संस्थाको छैठौं वार्षिक साधारणसभा सम्पन्न :: Sahakari Akhabar

ललितपुर । अभिवादन बहुउद्देश्यीय सहकारी संस्थाको छैठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष किशोर महर्जनको सभापतित्व एवं ज्येष्ठ सदस्य जीतलाल महर्जनको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो ।

सभामा अध्यक्ष महर्जनले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सदस्यहरुमा रहेको ससानो पुँजीलाई संकलन गरी उनीहरुकै माझ आयमूलक तथा उत्पादनमूलक क्षेत्रमा लगानी गरी आर्थिक, सामाजिक र साँस्कृतिक उत्थानमा सहयोग पुयाउने उद्देश्यले २०७२ सालमा संस्था स्थापना भएको बताए ।

ललितपुर जिल्लाभर कार्यक्षेत्र रहेको संस्थाले सदस्यहरुमा नियमति बचत गर्ने बानीको विकास गरी सुरक्षित भविष्य निर्माणका लागि भूमिका खेलेको महर्जनले जनाए ।

संस्थाको विकास र प्रवर्धन लागि संस्थागत सुशासनलाई अपरिहार्य ठानी संस्था सञ्चालनमा प्रभावकारिता ल्याउन विभिन्न नीति तथा आन्तरिक कार्यविधि निर्माण गरी कार्यान्वयनमा ल्याइएको समेत उनले बताए ।

संस्थाले सदस्यहरुको एक लाख रुपैया बराबरको दुर्घटना बीमाको व्यवस्था गरेकाले उक्त बीमा योजनामा सबै सदस्यलाई सहभागि हुन उनले आग्रह गरे ।

गत आर्थिक वर्षमा ६ जना सदस्यले दुर्घटना बीमा वापतको सुविधा पाएको बताउँदै उनले अस्पतालमा भर्ना भएर उपचार गर्नुपरेमा ५ दिनको १५ सय बेड चार्ज समेत उपलब्ध गराउने जानकारी दिए ।

संस्थाले महिला उद्यमशीलता विकास गर्नका लागि ३ महिनासम्म कुनै पनि सेवा शुल्क नलिइ एक पटकमा १० जनासम्मलाई ४० हजारका दरले ऋण उपलब्ध गराउँदै आएको र यसले महिलाहरुलाई उद्यमशीतलामा लाग्न प्रेरित गरेको उनको भनाई छ ।

वर्षमा ४० जना महिलालाई उद्यमशील कर्जाबाट संस्थाले ऋण उपलब्ध गराउँदै आएको छ । त्यसैगरी महिला सदस्यहरु सुत्केरी हुँदा स्याहार खर्चबापत २ हजार रुपैया बराबरको सुत्केरी पोषण उपलब्ध गराउने गरेको अध्यक्ष महर्जनले जनाए ।

ज्येष्ठ सदस्यका छोराछोरी विदेश गएकाले उनीहरुमा एक्लो पनको महशुस नहोस् र केहि मात्रामा भएपनि खुशी ल्याउने उद्देश्यका साथ संस्थाले तीर्थाटन कार्यक्रम गर्दै आएको उनले बताए ।

सदस्यको मृत्यु भएको खण्डमा काजकिरिया खर्च वापत मृतकका आश्रित परिवारलाई १० हजार रुपैया राहत संस्थाले उपलब्ध गराउँदै आएको छ ।

संस्थाले नेपाल क्यान्सर अस्पतालसँग सहकार्य गरेर सदस्यहरुको स्वास्थ्य जाँच र उपचारमा ३५ देखि ५० प्रतिशत छुट पाउने व्यवस्था गरेको बताउँदै महर्जनले समयसमयमा अस्पतालमा गएर स्वास्थ्य जाँच गरे क्यान्सर जस्तो प्राणघातक रोगबाट समेत बच्न सकिने उल्लेख गरे ।

१० हजार भन्दा न्यून शेयर भएका सदस्यलाई न्यूनतम १० हजार शेयर र्पुयाउन आग्रह गर्दै प्रत्येक सदस्यलाई मासिक बचतमा सहभागि हुन उनले आग्रह गरे ।

सके मासिक रुपमा ५०० देखि १००० नसके सयपचास भएपनि बचत गर्दै जाँदा संस्थामा पुँजी निर्माण हुने र सदस्यहरुले सहुलियत ब्याजदरमा ऋण पाउनुका साथै भविष्यमा आइपर्ने खरखाँचो टार्न समेत सघाउ पुग्ने उनको भनाई छ ।

संस्थामा १७०० सदस्य आवद्ध रहेको र मासिक रुपमा ससानो पुँजी जम्मा गर्दा पनि पन्ध्रबीस लाख हुने भन्दै उनले भोलिका दिनमा संस्थामा बचत बढ्न गई सरकारले तोकेको भन्दा पनि सस्तो ब्याजदरमा ऋण पाउन सक्ने जनाए । संस्थाले आगामी वर्षदेखि समाजमा योगदान र्पुयाएका व्यक्तित्वहरुलाइ अभिवादन सहकारी पुरस्कारबाट सम्मान गर्ने भएको छ ।

बचत तथा ऋणको कारोबारमा मात्र सीमित नरही संस्था शिक्षा, स्वास्थ्य, खेलकूद, युवा, सामाजिक संघसंस्था र स्थानीय सरकारसँग समेत सहकार्य गरेर समुदायको उन्नतिको लागि निरन्तर क्रियाशील रहेको उनको भनाई छ ।

कलासँस्कृतिको जगेर्ना अभिवादनको अभिभारा भन्ने नारा अघि सारेको र सोही अनुरुप हरेक वर्ष सिद्धिपुर, ठैव र हरिसिद्धिका बाजागाजा खलः को जगेर्ना र प्रवर्धन गर्न पालैपालो बाद्यवादनका सामग्री प्रदान गर्दै जाने उनले बताए । संस्थाले सदस्यहरुलाई मोबाइल बैंकिङ तथा ईसेवा, रेमिटान्स जस्ता सुविधा प्रदान गर्दै आएको छ ।

सभामा संस्थाका कोषाध्यक्ष सुदन महर्जनले आव २०७८।०७९ को आर्थिक प्रतिवेदन तथा चालु आ।व।को बजेट तथा कार्यक्रम प्रस्तुत गरेका थिए । वित्तीय पहुँच नपुगेका वर्ग र समुदायलाई जोडेर संस्थाले उद्यमशील बनाउनुका साथै आर्थिक तथा सामाजिक रुपान्तरणमा समेत सहयोग र्पुयाएको उनले बताए

 गत आवको असार मसान्तसम्म १५८६ शेयर सदस्य, २ करोड ६६ लाख ९२ हजार शेयरपुँजी २० करोड ५० लाख २० हजार बचत संकलन र २३ करोड १८ लाख ४१ हजार ऋण लगानी गरी ७७ लाख १७ हजार कुल बचत गर्न सकेको उनले जानकारी दिए ।

सभामा आवधिक बचतकर्तालाई प्रशंशापत्र र नगदले सम्मान गर्नुका साथै स्थानीय बाजा खलः लाई बाद्यवादनका सामग्री प्रदान गरिएको थियो ।

सभाको सञ्चालन सचिव महेन्द्रकुमार महर्जनले गरेका थिए । सभामा संस्थाका कानुनी सल्लाहकार रमिता महर्जन, सल्लाहकार तेजप्रसाद बजगाईं र विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।



Leave a comment