हाइलाइट

नयाँपाटी साकोसको २५ औं बार्षिक साधारण सभा सम्पन्न, सवा अर्वको वासलात

नयाँपाटी साकोसको २५ औं बार्षिक साधारण सभा सम्पन्न, सवा अर्वको वासलात :: Sahakari Akhabar

काठमाडौं । नयाँपाटी बचत तथा ऋण सहकारी संस्थाको २५ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष गौतम खनालको सभापतित्वमा भएको सभामा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेलको प्रमुख आतिथ्यता रहेको थियो ।

प्रमुख अतिथि कँडेलले सहकारीमा एकिकरणको लहर शुरु भएकोले नयाँपाटी जस्तो समुदायमा आधारित संस्थाले एकिकरणको नेतृत्वदायी भूमिका खेल्नसक्ने बताए । सभामा संस्थाको शेयरपुँजी १२ करोड ८२ लाख पुगेको छ । साधारण सभामा प्रस्तुत प्रतिवेदन अनुसार ८ करोड ७९ लाख संस्थागत पुँजी तथा ४ हजार ९८९ जना शेयर सदस्य पुगेको जनाइएको छ ।  त्यसैगरी संस्थाको कुल वासलात १ अर्ब १३ करोड ४८ लाख तथा ८० करोड १२ लाख बचत संकलन र ९१ करोड ७३ लाख ऋण लगानी गरेको जनाइएको छ ।

सभामा संस्थाका अध्यक्ष खनालले एउटा कोठा र टिनको ट्याङ्काबाट शुरु भएको संस्थाले यस अवधिसम्म आइपुग्दा आफ्नै भवनबाट आधुनिक र प्रविधिमैत्री वित्तीय सेवा प्रदान गरिरहेको जनाए । संस्थाले सदस्यहरुलाई सहज रुपमा वित्तीय सेवा उपलब्ध गराउन एटिएम मेशिन, स्मार्ट मोबाइल बैंकिङ्ग, युटिलिटी पेमेन्ट, ३६५ दिने सेवा र रेमिट्यान्स जस्ता सेवासुविधा प्रदान गर्दै आएको उनले जनाए । सदस्यको सन्तुष्टि नै संस्थाको सफलता हो भन्ने उद्देश्यका साथ संस्था अगाडि बढाइएकाले संस्थाले यो उपलब्धी हासिल गर्न सकेको उनको भनाई छ ।

सभामा सचिव चिरञ्जीवी सिंखडाले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाले लघुवित्त कार्यक्रम सञ्चालन गरेको र १५६ समुहमा गरी ३ हजार ३३७ महिलाहरु समुहमा आवद्ध भएर आय आर्जनका क्षेत्रमा लागेको उनले बताए ।

सभामा कोषाध्यक्ष बसन्तकुमार पण्डितले आर्थिक वर्ष २०७८।०७९ को आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाले त्यस अवधिमा बचत संकलन तथा ऋण परिचालन गरी ३ करोड ५१ लाख कुल मुनाफा आर्जन गरेको छ । संस्थाले महिला, कृषि तथा सहकारी, शिक्षा, ऋण निरीक्षण, युवा तथा खेलकूद, लघुवित्त, सूचना तथा सञ्चार, स्वास्थ्य र ऋण उपसमिति बनाइ उनीहरुमार्फत तालिम तथा गोष्ठी गर्न बजेट विनियोजन गरेको उनले बताए ।

संस्थाले व्यवसायिक कृषि र पशुपालनका लागि कम व्याजदरमा ३० लाख सम्म ऋण लगानी गर्ने व्यवस्था गरेको उनले जानकारी दिए ।  संस्थाले जोरपाटी र गागलफेदीमा सेवा केन्द्र स्थापना गरी सदस्यहरुलाई वित्तीय लगायत सम्पूर्ण सेवाहरु प्रदान गर्दै आएको छ ।



Leave a comment