भक्तपुर । भक्तपुरको भक्तपुर उद्यमी बचत तथा ऋण सहकारी संस्थाको १५ औं साधारणसभा शुक्रबार सम्पन्न भएको छ । ‘बचत गरौं भविष्य उठाऔं, ऋण लिई उद्यम गरौं’ भन्ने नाराको साथ २०६४ सालमा स्थापना भएको उक्त संस्थाको साधारणसभा भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवप्रसाद मानन्धरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
साधारण सभामा संस्थाका सचिव महेशबहादुर धौबञ्जारले आर्थिक वर्ष २०७८ / ७९ मा संस्थाको प्रतिवेदन तथा आर्थिक वर्ष २०७९ / ८० को योजना प्रस्तुत गरेका थिए ।
सभामा संस्थाका कोषाध्यक्ष प्रज्वल जोन्छेले संस्थाको आर्थिक वर्ष २०७८ / ७९ को आर्थिक प्रगति प्रतिवेदन पेश गरे । उनले २०७९ असार मसान्तसम्ममा संस्थाको कुल सम्पत्ति ४२ करोड ४३ लाख १८ हजार रुपैयाँ पुगेको जानकारी गराए । कुल सम्पति ५० करोड ९१ लख ८१ हजार ५६१ रुपैयाँ पुर्याउने अनुमानित बजेट पेश गरे ।
संस्थाले आर्थिक वर्ष २०७८ / ७९ मा ५८ लाख ३१ हजार ७७० रुपैयाँ खुद मुनाफा गरेको जनाए । साधारण सभाले सदस्यहरुलाई १०.४८ प्रतिशत शेयर लाभांश रकम वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
सभामा प्रमुख अतिथि मानन्धरले भक्तपुर जिल्लाका प्रतिष्ठित उद्यमी तथा व्यवसायीहरु आबद्ध रहेको संस्था भक्तपुर जिल्लामा छुट्टै पहिचान कायम गर्न सफल भएको बताए ।
उनले सहकारीमा आबद्ध सदस्यहरुले संस्थाको सञ्चालक समितिमा रहेका पदाधिकारीहरुले संस्थामा गरिरहेका क्रियाकलापसँगै सहकारी संस्थाले वार्षिक साधारणसभा गरे नगरेको, लेखा परीक्षण गरे नगरेको, वित्तीय प्रगति प्रतिवेदन प्रकाशित गरे नगरेकोलगायतका विषयमा ध्यान दिनुपर्नेमा जोड दिए ।
उनले स्थानीयवासीहरु मिलेर खोलेका कारण अपवादबाहेक भक्तपुरमा खोलिएका ८० प्रतिशतभन्दा बढी सहकारी संस्था राम्ररी सञ्चालन भइरहेको बताए ।
संस्थाका अध्यक्ष उत्तमप्रसाद वैद्यले संस्थाका सदस्यहरुको योगदानकै कारण संस्था आजको स्थानसम्म आइपुगेको भन्दै आगामी दिनमा पनि संस्थाको प्रगतिका लागि रचनात्मक सहयोग गरिरहन सदस्यहरुलाई आग्रह गरे । सभामा संस्थाका ज्येष्ठ सदस्यहरु रामकेशरी अमात्य र बेलभक्त कोजूलाई सम्मान गरेको छ ।
Leave a comment