मेगाड्रिम सहकारीको १२औं वार्षिक साधारणसभा सम्पन्न

मेगाड्रिम सहकारीको १२औं वार्षिक साधारणसभा सम्पन्न :: Sahakari Akhabar

काठमाडौं । बालाजु माछापोखरीमा मुख्य कार्यालय रहेको मेगाड्रिम बहुउद्देश्यीय सहकारी संस्थाको १२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के।वी। उप्रेतीको प्रमुख आतिथ्यता एवं संस्थाका अध्यक्ष महाशंकर रेग्मीको अध्यक्षतामा शुक्रबार सभा सम्पन्न भएको हो ।

प्रमुख अतिथि उप्रेतीले सहकारी संस्थाहरुबीच एकिकरण भए संस्थागत पुँजी र वित्तीय संरचना बलियो हुन गई तरलता अभाव र आर्थिक मन्दी जस्ता अवस्थाको सहजै सामना गर्न सकिने हुँदा एकिकरणमा जान जोड दिए ।

बैंक तथा वित्तीय संस्थाले व्याजदरमा अस्वाभाविक वृद्धि गर्दा त्यसको प्रभाव सहकारी संस्थाहरुमा  परेकाले तरलता व्यवस्थापनमा अहिले कठिनाइ देखिएको उनले बताए ।

सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष रेग्मीले सदस्यहरुको आर्थिक, सामाजिक एवं साँस्कृतिक उन्नयनका लागि संस्थालाई दीगो, दरिलो र सबल बनाउन संस्थागत सुशासनलाई पहिलो प्राथमिकतामा राखेको बताए ।

संस्थाका सचिव तथा प्रबन्ध सञ्चालक इन्द्रप्रसाद गेलालले चालु आ.व. २०७९ / ०८० को नीति, अनुमानित बजेट तथा कार्ययोजना सभामा प्रस्तुत गरेका थिए ।

विभिन्न समयमा देखा परेका महामारी र युद्ध जस्ता कुराले हरेक क्षेत्रमा प्रतिकूल प्रभाव पार्दा वित्तीय प्रणालीमा तरलता चाप परेको उल्लेख गर्दै उनले आर्थिक बजार र समग्र अर्थतन्त्रमा देखिएको संकटका कारण आम मानिसमा सहकारीप्रति विश्वासको संकटले बचत फिर्ताको अस्वाभाविक चाप पर्दा तरतला व्यवस्थापन गर्न हम्मेहम्मे परेको जनाए ।

यस आर्थिक वर्षमा संस्थाले स्वास्थ्य शिविर, घरदैलो कार्यक्रम, सदस्य भेटघाटका साथै स्वरोजगारमुलक कौशी खेती, महिला उद्यमशीलता, कर्मचारी क्षमता विकास, पल्र्स विश्लेषण तथा ऋण विश्लेषण जस्ता शीर्षकमा तालिम आयोजना गरिने उनले जनाए ।

यस आ.व.मा शेयरसदस्य तथा शेयर रकम वृद्धि, निक्षेप वृद्धिका लागि नीति तथा कार्यक्रम, ऋण लगानी र ऋण असुलीका नीति बनाइ लागु गर्ने उनले उल्लेख गरे ।

सभामा लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्दै संयोजक उमाकान्त न्यौपानले आ.व. २०७८ / ०७९ को असार मसान्तसम्म १० हजार ६४१ शेयर सदस्य बाट १६ करोड ४५ लाख शेयरपुँजी संकलन भएको बताए ।

त्यसैगरी सोही अवधिमा १ अर्ब ७५ करोड बचत संकलन, २ अर्ब ३ करोड १२ लाख ऋण लगानी, जगेडा तथा अन्य कोषमा ५ करोड ५२ लाख, कर्जा जोखिम कोषमा ९ करोड २८ लाख, स्थिर सम्पत्ति २ करोड ३८ लाख गरी कुल कारोबार २ अर्ब २५ करोड ९२ लाख पुगेको जनाए ।

सभाले सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, चालु आ।व।को नीति, अनुमानित बजेट एवं कार्ययोजना, लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण, संस्थाहरुबीच एकिकरण, संस्थाको नाममा रहेको सम्पत्ति विक्री तथा खरिद जस्ता विषयमा छलफल गरी अनुमोदन गरेको छ ।

संस्थाले सात वटा सेवा केन्द्र र ११२ जना कर्मचारीमार्फत सदस्यलाई सेवा प्रदान गर्दै आएको छ । संस्थाले विभिन्न २४ प्रकारका बचत योजना अघि सारेर सदस्यहरुबाट बचत संकलन गर्ने गरेको छ  ।

व्यवसायिक, सामुहकि, व्यक्तिगत, वैदेशिक रोजगा, हायरपर्चेज, अल्पकालिन, सहुलियत, कृषि र लघु कर्जा शीर्षकमा सदस्यहरुमा ऋण प्रवाह गर्दै आएको छ । सभामा काठमाण्डौ जिल्ला वहुउेद्दश्यीय सहकारी संघका अध्यक्ष मनोजकुार थापा मगरलगायतले शुभकामना मन्तब्य राखेका थिए ।



Leave a comment