शुक्रपथ सहकारीको १२औं वार्षिक साधारणसभा सम्पन्न

शुक्रपथ सहकारीको १२औं वार्षिक साधारणसभा सम्पन्न :: Sahakari Akhabar

काठमाडौं । न्युरोडमा मुख्य कार्यालय रहेको शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्थाको १२औं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष नरेन्द्र बिष्टको अध्यक्षता एवं राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.वी. उप्रेतीको प्रमुख आतिथ्यता सभा सम्पन्न भएको हो।

सभामा संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष विष्टले संस्थाले सदस्यहरुको आर्थिक तथा सामाजिक उत्थानका लागि कार्य गर्दै आएको बताए । संस्थाले १ हजार ८ सय भन्दा बढी सदस्यहरुलाई ऋण प्रवाह गरी स्वरोजगार बनाउन सफल भएको उनले जानकारी दिए ।

त्यसैगरी संस्थाले १५० जना भन्दा बढी कर्मचारीलाई प्रत्यक्ष रोजगार उपलब्ध गराएको जानकारी दिए । अध्यक्ष विष्टले कर्मचारीहरुको क्षमता अभिवृद्धिका लागि समय समयमा तालिम, पुरस्कार तथा सम्मान जस्ता गतिविधि गर्ने गरेको जनाए । विगत ३ वर्षदेखि विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस महामारीका कारण मुलुकको अर्थतन्त्रमा संकट ल्याइरहेका बेला पछि

समय युक्रेन र रसिया बीचको युद्धले विश्व अर्थतन्त्र नै मन्दीमा धकेलिँदा मुलुकमा समेत त्यसको असर परेको र सहकारी क्षेत्रमा पनि प्रभाव देखिएको सभामा जानकारी दिए ।

संस्थालाई दिगो र बलियो बनाउनका लागि आफुहरु लागि परेको जनाउँदै उनले उद्देश्य मिल्ने र समान प्रकारका सहकारी संस्थाबीच एकिकरणको प्रक्रियामा समेत अघि बढाइएको जानकारी दिए ।

बजारमा एकाध सहकारीमा आएको समस्याका कारण वित्तीय अवस्था राम्रो भएका सहकारीमा समेत त्यसको प्रभाव परेकोमा पछिल्लो समय तरलता व्यवस्थापनमा केहि कठिनाइ भएको बताए ।

संस्थाले गत आर्थिक वर्ष २०७८ / ७९ लाई प्रविधि विकास वर्षको रुपमा लिएको र सदस्यहरुलाई प्रविधिमैत्री सेवा प्रदान गर्ने उद्देश्यले मोबाइल बैंकिङ, बैंक ट्रन्सफर, कनेक्ट आइपीएस, फोन पे, क्यु आर पेमेन्ट जस्ता सुविधा सुरुवात गरिएको उनले जनाए ।

संस्थाका लेखा समिति संयोजक लक्ष्मण शर्माले समितिको प्रतिवेदन प्रस्तुत गर्दै सदस्यहरुको सुविधाका लागि व्यवसायिक, व्यक्तिगत, लघु, हायरपर्चेज, वैदेशिक, कृषि र सहुलियत आदि शीर्षकमा ऋण प्रवाह गर्दै आएको जनाए ।

सभामा प्रबन्ध निर्देशक जीवनराज ओझाले आ.व. २०७८ / ०७९ को वार्षिक बजेट तथा नीति कार्यक्रम प्रस्तुत गरेका थिए । शुक्रपथ काठमाण्डौ उपत्यकाकै एक अग्रणी संस्था रहेको र यसलाई थप परिष्कृत, विस्तारित र नयाँ उचाइमा र्पुयाउन आफुहरु अनवरत लागिपरेको उनले जनाए ।

संस्थाले आ.व. २०७८ / ७९ को अन्त्यसम्म २० करोड ४५ लाख शेयरपुँजी, कोषहरुमा ४ करोड ६९ लाख, बचत संकलन १ अर्ब ९५ करोड ६८ लाख गरी कुल १ अर्ब ९३ करोड ९० लाख ऋण लगानी गरेको छ । संस्थाले त्यस अवधिमा २ करोड ५ लाख सञ्चालन मुनाफा आर्जन गरेको जनाइएको छ ।

संस्थाले लघुउद्यम कार्यक्रममार्फत ग्रामीण उद्यमशीलता विकास र महिला सशक्तिकरणका लागि विभिन कार्यक्रम गर्दै आएको छ । त्यसैगरी सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाले सदस्यहरुको जन्मदेखि मृत्यु संस्कार सम्मका कार्यक्रममा सहभागिता जनाउनुका साथै रक्तदान, सम्पदा सरसफाई र अन्य विविध गतिविधि गर्दै आएको छ ।

सभामा काठमाण्डौ जिल्ला वहुउेद्दश्यीय सहकारी संघका अध्यक्ष मनोजकुमार थापा मगरलगायतले शुभकामना मन्तब्य राखेका थिए भने कार्यक्रम संस्थाका संचालक, ऋण संयोजक तथा सूचना अधिकारी अर्जुन विश्वकर्माले संचालन गरेका थिए । 



Leave a comment