पोखरा । पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाको २१औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाले ४ वटा स्थानमा एकाई सभाहरु गरी पोखरामा एकाई प्रतिनिधीहरुको निर्णय प्रमाणिकरण सभा सम्पन्न गरेको हो ।
संस्थाकी अध्यक्ष रुद्रकुमारी गुरुङ्गको अध्यक्षतामा भएको सभामा भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिवी निवारण मन्त्रालय गण्डकी प्रदेशका सहकारी रजिष्ट्रार रमेश घर्तीको प्रमुख आतित्थ्यता रहेको थियो । रजिष्ट्रार घर्तीले यस सहकारीले गर्ने गतिविधि अन्य सहकारीले समेत अनुशरण गर्नुपर्ने बताए । उनले भावी दिनमा सहकारीको सिद्धान्त बमोजिम उत्पादन तथा रोजगारीमूलक क्षेत्रमा पनि लगानी केन्द्रित गर्न सुझाव दिए ।
वार्षिक साधारण सभामा उत्कृट सदस्यहरु जीतबहादुर गुरुङ्ग र दुर्गा लामिछाने ढकाल, वर्ष उत्कृष्ठ कर्मचारी रुपेन्द्र गुरुङ्ग, उत्कृष्ठ बाल बचतकर्ता मिङमार गुरुङ्गलाई सम्मान गरेको छ । त्यसैगरी उत्कृष्ठ लघुवित्त केन्द्र प्रथम हार्पुथर रोयल केन्द्र, द्धितिय चक्रदेवी रोयल केन्द्र र तृतिय जागृति रोयल केन्द्र तथा उत्कृष्ठ सेवाकेन्द्र मोहरिया सेवा केन्द्रलाई नगद, प्रमाण पत्र र दोसल्लाले सम्मान गरेको थियो ।
साधारण सभामा अध्यक्ष रुद्रकुमारी गुरुङ्गद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन साथै लेखा सुपरिवेक्षण समितिका संयोजक हर्कबहादुर गुरुङ्गद्वारा प्रस्तुत वार्षिक समीक्षा प्रतिवेदन साथै लेखा परिक्षकको तर्फबाट कोषाध्यक्ष गीरबहादुर श्रेष्ठद्वारा प्रस्तुत लेखापरिक्षण प्रतिवेदन, सञ्चालक समितिको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भीमबहादुर गुरुङ्गद्वारा प्रस्तुत नीति, कार्यक्रम तथा बजेट र सचिव केशवप्रसाद ढकालद्वारा प्रस्तुत विनियम संसोधन तथा विशेष प्रस्ताव समेत पारित गरेको छ ।
संस्थाको चालु आर्थिक वर्षको कूल सम्पत्ती २ अर्ब १८ करोड, शेयर पूँजी २० करोड ९७ लाख, जगेडा तथा अन्य कोष १९ करोड ८१ लाख र बचत निक्षेप १ अर्ब ५७ करोड रहेको जनाइएको छ । त्यस्तै १ अर्ब ८२ करोड ऋण लगानी गरि ६ करोड ४८ लाख सञ्चालन नाफा आर्जन गरेको जनाइएको छ ।
संस्थाले शेयरतर्फ १०.२७ प्रतिशत लाभांश र संरक्षित पूँजी फिर्ता कोषबाट सदस्यहरुको कारोबारको आधारमा बचत कारोबार तर्फ ३.१६ प्रतिशत र ऋण तर्फको कारोबारमा २.७२ प्रतिशत अतिरिक्त लाभ प्रदान गर्ने निर्णय गरेको छ ।
साधारण सभाको अवसरमा संस्थाका सदस्य सीता परियारका ४ वर्षे छोरा प्रमिस परियारको उपचारको लागि ५० हजार नगद सहयोग गरेको छ । संस्थाकोे हाल कास्की, स्याँङ्गजा, तनहुँ, लमजुङ्ग र पर्वत जिल्ला गरी ५ जिल्ला कार्यक्षेत्र र प्रधान कार्यालयसहित ४ वटा कार्यालय, ८ हजार ४०८ जना सदस्य र ४३ जना कर्मचारी रहेको जानकारी दिइयो ।
संस्थाले सामुदायिक गतिविधीका साथै एटिएम, मोवाईल बैकिङ्ग, क्यू आर कोड, एस एम एस बैकिङ्ग लगायतका आधुनिक प्रविधी मार्फत छिटो छरितो सेवा प्रदान गरिरहेको संस्थाका सूचना अधिकारी मीलन ढकालले बताए ।
Leave a comment