लमजुङ, २ असोज । लम्जुङका सहकारीकर्मीहरुले सहकारी क्षेत्रको छवि सुधार्न सहकारीका सदस्य केन्द्रीत शिक्षालगायत क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्न आव्हान गरेका छन् । राष्ट्रिय सहकारी बैंक दमौली शाखाले आइतवार लमजुङको बेशीसहरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका सहभागीले सहकारीका आधार स्तम्भ सदस्यहरु भएकाले उनीहरुको क्षमता विकासमा ध्यान दिनु पर्नेमा जोड दिएका हुन् ।
कार्यक्रमका सहभागीहरुले सहकारीको जग सदस्य भएको तर सदस्यलाई सहयोग पुग्ने, सदस्यहरुको क्षमता विकास हुने कार्यक्रम नभएको गुनाँसो गरे । कतिपय सहकारीहरुले नाफा लगायत ब्याजमा केन्द्रीत भएका कारण समस्या भएको छ उनीहरुको भनाई छ । सहकारीहरुले सदस्य केन्द्रीत हुने गरी कारोबार गर्ने हो भने सहकारीमा समस्या नआउने सहभागीको तर्क छ ।
सहभागी सहकारीकर्मीहरुले वित्तीय क्षेत्रमा देखिएको ब्याज बढाउने कार्यले सहकारीमा समस्या आएका भन्दै सहकारी अभियानका राष्ट्रिय तथा केन्द्रीय सहकारी संघ र बैंकहरुले राज्यसंग लविङका क्षेत्रमा प्रभावकारी काम गर्नु पर्नेमा जोड दिए । सहकारीका केन्द्रीय निकायले राज्य सञ्चालकहरुसंग राम्रो लविङ गर्न नसकेको सहभागीहरुको गुनासो थियो ।
सन्दर्भ ब्याजदर, कर्जा सूचना केन्द्र लगायतका विषयमा अभियानको ध्यान पुग्न नसकेको भन्दै उनीहरुले सहकारीका सदस्यलाई फाइदा हुने कानुनका विषयहरुमा ध्यान दिन आग्रह गरेका छन् । कार्यक्रममा प्रमुख अतिथि बेशीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले सहकारीको विश्वास भनेको सदस्यको सेवा हो भन्ने कुरालाई स्थापित गर्न आग्रह गरे ।
सहकारीका सकारात्मक पाटा धेरै छन, मुख्य गरेर विपन्न वर्गका जनतालाई एकत्रित गर्ने, उनीहरुलाई आयआर्जनमा केन्द्रीत गराउने, आयआर्जन गरेको रकम वचत गर्न सिकाउने, नेतृत्व विकास लगायत क्षमता विकासका क्षेत्रमा सहकारीले गरेका राम्रा कुराहरुलाई प्रवद्र्धन गर्नु पर्नेमा उनको जोड थियो ।
कार्यक्रममा सहभागीहरुले राखेका जिज्ञासाहरुको बारेमा बैंकका अध्यक्ष के.बी.उप्रेतीले जवाफ दिएका थिए । कार्यक्रममा लमजुङ जिल्लाका विभिन्न सहकारी संघ संस्थाका १ सय जनाको सहभागिता रहेको थियो ।
सहकारी बैंक जिल्लास्तरीय समन्वय उपसमिति गठन
लमजुङ जिल्लामा राष्ट्रिय सहकारी बैंकको शाखा सञ्चालनका लागि समन्वय गर्नका लागि राष्ट्रिय सहकारी बैंक जिल्ला स्तरीय समन्वय उपसमिति लमजुङ गठन गरिएको छ । उपसमितिको संयोजकमा जिल्ला सहकारी संघ लमजुङका अध्यक्ष विजय गुरुङ तथा सदस्यहरुमा लेखा संयोजक महेन्द्रलाल श्रेष्ठ, जिल्ला वचत तथा ऋण सहकारी संघका अध्यक्ष दुर्गाभक्त धमला, जिल्ला कफी सहकारी संघका अध्यक्ष विश्व प्रसाद अधिकारी, वचत तथा ऋण सहकारी संघका उपाध्यक्ष यशोदा रिमाल, सञ्जालका अध्यक्ष तारा घले, रामबाबु श्रेष्ठरहेका छन् ।
Leave a comment