बनेपा । तीनदोबाटोमा रहेको आभाष बचत तथा ऋण सहकारी संस्थाले ४३ जना सदस्यलाई ४ लाख ७५ हजार सहयोग गरेको छ । संस्थाले सुरक्षा कोष अन्तर्गत सदस्यलाई उक्त रकम सहयोग गरेको हो।
संस्थाको १३ औँ बार्षिक साधारण सभामा बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका सचिव प्रकाश कायस्थले संस्थाले संचालन गरेको सुरक्षा कोष अन्तर्गत आवद्ध सदस्यको कालगतिले मृत्यु भएका ३ जनाको परिवारलाई प्रति सदस्य १० हजार, क्यान्सर पिडित ३ जना सदस्यलाई प्रति सदस्य २५ हजार तथा विभिन्न रोग लागेका ३७ जना सदस्यलाई उपचार गर्न प्रति सदस्य १० हजार सहयोग गरेको जानकारी दिए ।
भदौ ३१ गते बनेपा पार्टी भेन्युमा सम्पन्न सभामा उनले संस्थाको छोरी अभियान अन्तर्गत यो वर्ष २ जना सदस्यलाई २० हजार सहयोग गरेको पनि बताए । उनले सदस्यहरुलाई सहकारी शिक्षा तालिमलगायतको कार्य गर्दै आएको जानकारी दिए ।
त्यसैगरी सभामा संस्थाका कोषाध्यक्ष धर्मभक्त प्रधानले आर्थिक वर्ष ०७८ / ०७९ को आर्थिक प्रतिवेदन तथा ०७९ / ८० को कार्यक्रम तथा बजेट प्रस्तुत गरेका थिए । उनले यस आर्थिक वर्षमा ७१ करोड ६४ लाख १२ हजार ७ सय ३२ रुपैयाँको कुल कारोबार गरेको जनाए ।
त्यसैगरी संस्थामा ३ करोड ७० लाख ९८ हजार ८ सय रुपैयाँ शेयर पूँजी तथा ५८ करोड ५ लाख ३६ हजार १ सय ३२ रुपैयाँ बचत संकलन रहेको जानकारी दिए ।
संस्थाले ५६ करोड ६९ लाख २४ हजार ३ सय ५० रुपैयाँ ऋण लगानी गरी ७७ लाख ८९ हजार ५९ रुपैयाँ खुद मुनाफा गरेको सभालाई जानकारी गराए ।
संस्थाको जगेडा कोषमा १ करोड ९१ लाख ८७ हजार ८ सय ८७ रुपैयाँ रहेको जनाइएको छ । ५ हजार ८ सय ३२ सदस्यरहेको संस्थाको पनौति र भकुण्डेमा सेवाकेन्द्र रहेका छन्।
संस्थाले एबिबिएस, तथा एसएमएस अलर्ट र रेमिटेन्स सेवा प्रदान गरेको जनाइएको छ । साधारण सभाले सदस्यका छोरा छोरीमध्ये एसइईमा उत्कृष्ट अंक ल्याउने छात्र छात्रा, जेष्ठ सदस्य, उत्कृष्ट कारोबार गर्ने सदस्य र कर्मचारीलाई समेत सम्मान गरेको छ ।
संस्थाका अध्यक्ष दिनेशराज कायष्ठको सभापतित्वमा सम्पन्न सभामा बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यको प्रमुख आतिथ्यता रहेको थियो ।
सभामा जिल्ला सहकारी संघ काभ्रेका अध्यक्ष दिलिप शर्मालगायतले शुभकामना मन्तब्य राखेका थिए । सभामा संस्थाका उपाध्यक्ष ग्रुवेन तौजले धन्यबाद मन्तब्य रखेका थिए ।
प्रतिक्रिया
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।
तपाईंको प्रतिक्रिया