काठमाडौं । सहकारी अभियानले सहकारी तथा गरिबी निवारण सूचना प्रणाली (कोपोमिस) कार्यान्वयन गर्न सघाउने प्रतिवद्धता जनाएको छ । नेपाल सहकारी पत्रकार समाज(सिजेएन)ले आयोजना गरेको ‘कोपोमिसमा प्रविष्ट विवरणमा सहकारी संघको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने सहकारी अभियानका प्रतिनिधिहरुले कोपोमिस उच्च प्रथामिकतामा परेको भन्दै कार्यान्वयन गर्न पूर्णरुपमा सहजीकरण गर्ने बताए ।
राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले कोपोमिस कार्यान्वयन गर्न बैंकले अभियान सञ्चालन गरिसकेको बताए । ‘हामी कोपोमिस कार्यान्वयन गर्न तदारुकता देखाइसकेका छौं’ उनले भने,‘हाम्रा धेरै सदस्य कोपोमिसमा जोडिसकेका छन् ।’
राष्ट्रिय सहकारी महासंघका सञ्चालक समेत रहेका उप्रेतीले जिल्ला संघहरुलाई पत्राचार गरी कार्यान्वयनका लागि समन्वय गर्ने बताए । ‘कोपोमिसमा सबै सहकारीलाई ल्याउन सरोकारवाला निकाय सबैले सहयोग गर्नुपर्छ’, उनले भने,‘अभियान चलाउन हामी तयार छौं’ । सहकारीको यथार्थ तथ्यांक नहुँदा हचुवाका भरमा बोल्नुपर्ने वाध्यता रहेकाले कोपोमिस कार्यान्वयन भएमा वास्तविक तथ्यांक आउने उनले बताए ।
नेपाल बचत तथा ऋण सहकारी केन्द्रिय संघ (नेफ्स्कून) का वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले वित्तीय सहकारीलाई ट्रयाकमा ल्याउन कोपोमिसमा जानुको विकल्प नभएको बताए । ‘वित्तीय कारोबार गर्ने सहकारी नेटवर्क भन्दा बाहिर हुनुहुँदैन’ उनले भने,‘कोपोमिसमा जोड्न नसकिए हामी सदस्यता खारेज गर्न सक्छौं ।’
कुनै सहकारीलाई आर्थिक विचलन पर्न नहुनेतर्फ सजग भएको उनले बताए । ‘बाहिर रहेका संस्थाबाट अभियानको बदनाम नहोस्’ उनले भने । बागमती प्रदेश बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष उद्धव सापकोटाले कोपोमिसमा सहयोग गर्ने बताए । ‘हामी कार्यान्ववयन गर्न सघाउने छौं’ उनले भने ।
राष्ट्रिय सहकारी महासंघका कामु महाप्रबन्धक सुरेश थापाले कोपोमिसमा रिर्पोटिङ गर्ने सिष्टम अलमलमा परेको बताए । ‘कसरी विवरण प्रविष्ट गर्ने सहकारीमा अन्योल र अलमल छ’ उनले भने । विभागका इन्जिनियर अमोद पुडासैनीले कार्यपत्र प्रस्तुत गर्र्दै पछिल्लो समयमा कोपोमिसमा नयाँ सहकारी जोडिने क्रम बढेको बताए । पहिल्यै जोडिएका सहकारीले भने प्रविष्ट विवरण नहालेको उनले बताए ।
Leave a comment