विराटनगर । मोरङको उर्लाबारी नगरपालिका वडा नम्बर ७ मा नयाँ सहकारी स्थापना भएको छ । ५ करोड लगानीमा स्थापना भएको कावेली बहुउद्देश्यीय सहकारी संस्थाको उद्धघाटन भएको हो । बिहीबार उर्लाबारीका नवनिर्वाचित मेयर गंगाप्रसाद खरेलले सहकारीको उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मेयर खरेलले स्वरोजगार प्रवद्धर्नमा सहकारीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । पैसा बचत गर्ने र ऋण मात्रै दिएर सहकारीको प्रगति नहुने बताउँदै खरेलले उत्पादनमुलक क्षेत्रमा लगानी गरेर सदस्यहरुलाई मुनाफा दिन सहकारीहरु सक्षम हुनुपर्नेमा जोड दिए ।
ऋणकै कारण धेरैको घरवास उठिवास भएको भन्दै मेयर खरेलले शेयर सदस्यको हितमा सहकारी हुनु पर्ने बताए । सहकारीलाई स्थानीय क्षेत्रको आर्थिक विकास, सदस्यहरुको आय वृद्धि र स्वरोजगार प्रवद्धर्न गर्ने उद्देश्य लिएर स्थापना गरिएको सहकारीका अध्यक्ष सुभाष पौडेलले बताए ।
सहकारीका अध्यक्ष पौडेलले भने – ‘हामी सहकारी मार्फत सामाजको आर्थिक, सामाजिक विकासमा सबैसँग हातेमालो गरेर अगाडी बढ्ने छौं ।’ मोरङका सात वटा पालिकालाई समेटेर कार्य गर्ने बताउँदै पौडेलले केही समयपछि विभिन्न ठाउँमा छिट्टै शाखा खोल्ने समेत बताए ।
उत्पादन मुलक क्षेत्रमा लगानी गर्ने गरि स्थापना गरिएको सो सहकारीमा हाल १२५ जना शेयर सदस्य रहेका छन् । सहकारी ५ करोड लगानीमा स्थापना गरिएको पौडेलले जानकारी दिए । सहकारी संस्थाको उद्घाटन कार्यक्रममा उर्लाबारी नगरपालिकाकी उपप्रमुख मिना पौडेल, वडा नम्बर ७ का निवर्तमान वडा अध्यक्ष विरवल थापा लगायत स्थानीय व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।
Leave a comment