चीना थापा, विराटनगर । मोरङको बेलबारीकी सहकारीकर्मी सुनीता चौधरी वडा अध्यक्षमा निर्वाचित भएकी छिन् । बेलबारी नगरपालिका वडा नम्बर ७ को वडा अध्यक्षमा ८९७ मत ल्याएर उनी विजयी भएकी हुन। उनको प्रतिस्पर्धी नेकपा माओवादीका विन्देश चौधरीले ८५७ मत प्राप्त गरेका थिए ।
सानै उमेरदेखि सामाजिक कार्यमा सक्रिय मोरङ बेलवारीकी चौधरी २८ बर्षको उमेरमा दुई पटक जनप्रतिनिधि भईसकेकी छिन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा सोही वडाको वडा सदस्यमा निर्वाचित भएकी थिईन । सदस्य हुँदै अहिले अध्यक्षमा निर्वाचित भएकी छिन् ।
महिलाहरु नेतृत्वमा आउनुपर्छ र महिलाहरुलाई उद्यमशीलतासँग जोड्नुपर्छ भन्ने मान्यता राखेर सुनिताले २०७० सालमा आफ्नो अवधारणा अनुसार आफ्नो टोलमा परिश्रमीक सामाजिक महिला समूह गठन गरिन ।सानै उमेरदेखि केहि गर्नुपर्छ भन्ने मान्यता राखेकी चौधरीले केहि समयमा नै समूहलाई सहकारीमा परिणत गरिन् । अहिले समूहलाई परिश्रमीक सामाजिक उद्यमी सहकारी संस्था बनाईएकी छन् ।
१५ जना महिलाबाट सुरु भएको सहकारीमा अहिले २४ सय सदस्य पुगिसकेका छन् । सुनिता सहकारीको कोषाध्यक्ष छिन् । महिलाहरुलाई सहकारी मार्फत मात्र उद्यमशीलतामा जोड्न सकिने भएका कारण नै आफु सहकारी निर्माणमा लागेको र धेरै महिलाहरुलाई उद्यमशीलतामा जोडेको पनि उनको भनाई छ ।
पहिला पनि कार्यपालिका सदस्य भईसकेकी चौधरी अब पनि सहकारीलाई प्राथमिकतामा राखेर काम गर्ने बताउछिन् । ‘मैले कार्यपालिका बैठकमा सहकारीका समस्याको बारेमा कुरा उठाईरहे’, उनले भनिन्, ‘नगरपालिकाले सहकारीलाई प्राथमिकतामा नराख्दा झक्झक्याए, अन्य पालिकामा भन्दा हाम्रो नगरपालिकामा सहकारी सम्वन्धि केही कामहरु भएका छन् ।’
सहकारी सम्वन्धि कानुन निर्माणको बेलामा पनि स्थानिय समस्यालाई ध्यान दिएर निर्माण गर्न सुझाव दिएको उनले बताईन । ‘सहकारी भनेको गरिब विपन्न सबैको पहुँचमा पुग्ने संस्था हो’, उनले भनिन्, ‘आफुले कमाएको थोरै रकम बचाएर केह गर्न सक्छन् ।
सानो लगानीमा ठूलो आम्दानी लिन सक्ने अवस्था हुन्छ । बैंकमा ऋण लिन जानुपर्यो भने ६ महिना बर्ष दिन लाग्छ । त्यो अवस्थामा गाउँका विपन्न बर्गका लागि सहकारी नै उत्तम हो ।’ महिलाहरुलाई सहकारी मार्फत नै आत्मनिर्भर बनाउ सकिने उनको भनाई छ ।
सहकारी मार्फत महिलाहरुलाई उद्यमशीलतामा लगाउने बताउँदै उनले वडा अध्यक्ष निर्वाचित भएपछि सहकारी क्षेत्रको विकास पनि ध्यान दिने बताईन । स्थानीय तहहरुले सहकारीलाई प्राथमिकतामा नराखेको उनको अनुभव छ । आफै कार्यपालिकाको सदस्य हुँदा नी आफुले बोलेको कसैले नसुन्ने गरेको उनको भनाई छ ।
विकास निर्माणको काम नगरेर को सहकारीमा अल्झेर बस्छ भन्ने जस्ता प्रतिक्रिया उनले पाउथिन । सदस्यले धेरै बोल्नु हुँदैन भन्ने गरेको उनले सुनाईन । अब वडा अध्यक्ष भईसकेकी सुनिता सशक्त रुपमा सहकारीको विकाससँगै वडाको विकासमा काम गर्ने बताउछिन् ।
आर्थिक रुपान्तरणको मेरुदण्ड सहकारी भएकाले आफ्नो कार्यकालमा नगरपालिकाको नेतृत्वलाई पनि सहकारीलाई प्राथमिकतामा राखेर काम गर्ने बनाउने उनको योजना छ । नगरपालिकाका सहकारीलाई व्यवस्थित गर्ने, साना साना पुजीका सहकारीलाई एकिकरण गर्न प्रोत्साहन गर्ने, ठूला पुँजी भएका सहकारीलाई उत्पादनको क्षेत्रमा लाग्न जोड दिने र बढी भन्दा बढी महिलाहरुलाई उद्यमशीलतामा लाग्न प्रेरित गरेर उद्यमी बनाउने सुनिताको योजना छ ।
Leave a comment