हाइलाइट

शिक्षा सहकारीले २२ जना युवालाई सहुलियत कर्जा

शिक्षा सहकारीले २२ जना युवालाई सहुलियत कर्जा :: Sahakari Akhabar

झापा । शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाले कृषि, पशुपालन तथा सेवा व्यवसायका क्षेत्रमा स्वरोजगार बन्न चाहने युवालाई लक्षित गरी सहुलियत दरको कर्जा उपलब्ध गराएको छ ।

युवा तथा साना व्यवसायी स्वरोजगार कोषमार्फत शिक्षा बहुउद्देश्यीय सहकारीले सानो लगानीमा सञ्चालन गर्न सकिने पेशा व्यवसायका लागि युवालाई सहुलियत दरको कर्जा उपलब्ध गराएको हो ।

स्वरोजगार कर्जाका लागि संस्थाले इच्छुक सदस्यबाट प्रस्ताव आह्वान गरेको थियो । प्राप्त प्रस्तावमध्ये छनोटमा परेका युवालाई अभिमुखीकरण कार्यक्रम आयोजना गरी पहिलो चरणमा ३७ लाख ५० हजार रुपैयाँ कर्जा लगानी गरिएको शिक्षा संस्थाका अध्यक्ष सुब्रत न्यौपानेले जानकारी दिए ।

युवा तथा साना व्यवसायी स्वरोजगार कोष र सहकारी संस्थाबीच कृषि, पशुपालन तथा सेवा व्यवसायका क्षेत्रमा स्वरोजगार बन्न चाहने युवाका लागि ७५ लाख रुपैयाँ लगानी गर्ने गरी गत चैतमा सम्झौता भएको थियो ।

सम्झौता अनुसार प्रतिव्यक्ति अधिकतम दुई लाख रुपैयाँका दरले कर्जा लगानी गरिएको संस्थाका उपाध्यक्ष हेमराज मिश्रले बताए । ‘सहुलियत व्याजदरमा युवाले स्वरोजगार कर्जा पाएका छन्’ उपाध्यक्ष मिश्रले भने, ‘आत्मनिर्भर बन्न चाहने सदस्यलाई यो कर्जाले महत्वपूर्ण काम गर्छ भन्ने हाम्रो विश्वास हो ।’

संस्थाले युवाले ८ प्रतिशत व्याजदरमा स्वरोजगार कर्जा पाउँछन् । ४० महिनाभित्र तिरिसक्ने गरी पहिलो चरणमा २२ जना युवालाई कर्जा लगानी गरिएको छ । स्वरोजगार कर्जा लगानी गरिएकामध्ये १२ जना महिला छन् । त्यसमा आदिवासी जनजाति समुदायका चारजना महिला छन् ।

संस्थाका ऋण अधिकृत राजेन्द्र पोखरेलले कृषितर्फ ६० प्रतिशत र सेवा व्यवसायतर्फ ४० प्रतिशत रकम लगानी गरिएको बताए । संस्थाले अभिमुखीकरण कार्यक्रम आयोजना गरी छनोट भएका युवालाई चेक हस्तान्तरण गरेको हो ।



Leave a comment