काठमाडौं । बेमौसमी बाढीका कारण उत्पादन घट्दा आर्थिक वृद्धिदर लक्ष्य हासिल हुन सकेको छैन । सरकारले यस वर्ष आर्थिक वृद्धिदर ७ प्रतिशत अनुमान गरेपनि कृषि उत्पादन प्रभावित हुदाँ ५.८४ प्रतिशत मात्रै आर्थिक वृद्धिदर हुने प्रक्षेपण केन्द्रीय तथ्यांक विभागको छ ।
विभागका निर्देशक ईश्वरीप्रसाद भण्डारीले कृषि क्षेत्रमा भएको क्षतिका कारण आर्थिक वृद्धिदरमा ह्रास आएको बताए । बाढीले धानबालीमा क्षति गरेपछि उत्पादनमा कमी आएको हो । सहकारीले सञ्चालन गरेका कृषि उत्पादन तथा कृषि फार्म पनि बाढीले बगाएको थियो ।
निर्देशक भण्डारीले बाढीका कारण ८.७ प्रतिशत धान उत्पादन घटेकाले आर्थिक वृद्धिदरमा असर पुगेको हो । चालू आर्थिक वर्ष २०७८÷७९ मा उपभोक्ता मूल्यमा ५.८४ प्रतिशत र आधारभूत मूल्यमा कुल गार्हस्थ्य उत्पादन वृद्धिदर ५.४९ प्रतिशत आर्थिक वृद्धि हुने विभागले जनाएको छ ।
प्राथमिक क्षेत्रले कुल ग्राहस्थ उत्पादनमा २४.५ प्रतिशत योगदान दिने अनुमान विभागको छ । यस क्षेत्रभित्र कृषि, वन, तथा मत्स्य र खानी तथा उत्खनन क्षेत्र पर्छन् । यस वर्ष कुल मूल्य अभिवृद्धि वृद्धिदर स्थिर मूल्यमा २.४४ प्रतिशत हुने प्रारम्भिक अनुमान छ ।
देशभर ३० हजार सहकारी छन् । त्यसमध्ये धेरैजसो सहकारी कृषि क्षेत्रमै जोडिएका छन् । सहकारीबाट ऋण लिएर कृषि व्यवसाय गर्ने उल्लेख्य छन् । कतिपय स्थानमा सहकारी आफैं पनि कृषि व्यवसाय गरिरहेका छन्। तर, निजी क्षेत्र तथा सहकारीले उद्योग भन्दा व्यापारतर्फ केन्द्रित भएकाले पछिल्लो समयमा आयात उच्च हुँदै गएको छ ।
९ महिनासम्म १४ खर्ब बढी आयात भइसकेको बेला यो आर्थिक वर्षको अन्तसम्म २० खर्बको आयात हुने आकलन भएको छ । बहुउद्देश्यीय तथा कृषि सहकारी पनि उत्पादन भन्दा बचत तथा ऋणमै केन्द्रित भएको पाइएको छ । यसले दिनप्रतिदिन परनिर्भरता बढाइरहेको छ ।
सहकारी पैसाको किनबेच र निजी क्षेत्र विदेशी सामान व्यापारको किनबेचमै रमाइरहदाँ व्यापारघाटा भहाबह बन्दै गइरहेको छ । चालू आर्थिक वर्षको अन्तसम्म व्यापारघाटा नै १७ खर्बभन्दा बढी हुने विभागको अनुमान छ। निर्यात ३ खर्ब २० अर्बको हुने विभागको अनुमान छ ।
सहकारीको केही उत्पादन निर्यात हुने गरेपनि धेरै झन्झट रहेको जानकाररु बताउँछन् । सहकारीबाट उत्पादित चिया, कफी निर्यात भइरहेको छ । बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाह हुने ऋणको झन्डै ५० प्रतिशत आयातमै गइरहेको तथ्यांकले देखाउँछ । सहकारीबाट प्रवाह हुने ऋण पनि उत्पादन तथा उद्यमशीलतामा नभई गर्जो टार्नका लागि नै बढी केन्द्रित भइरहेको छ ।
Leave a comment